पोखरा । कास्की प्रहरीले अनलाइनमार्फत विदेश भ्रमण गराइदिने प्रलोभन देखाएर ठगी गर्ने भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५, प्रस्याङस्थित एक घर भाडामा लिएर अनलाइन स्क्याम भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले शुक्रबार छापा मारेर सप्तरीको कञ्चनपुर नगरपालिका–१२ निवासी २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगर निवासी ३० वर्षीय मोहम्मद याशिर (Mohammed Yasheer) लाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले ‘Oasis Tourism International’ नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई परिचालन गर्दै अनलाइन तथा टेलिफोनमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने गरेका थिए। ‘3N/4D Holiday Voucher, Fill & Win, Register & Win Assured Gift’ लेखिएको कुपन भराएर एसिया र युरोपका विभिन्न देशमा भ्रमण गराइदिने प्रलोभन देखाई रकम असुल्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले हालसम्म ३० जनाबाट रु. ९ लाख ६५ हजार ठगी गरेको तथा १५ जना बेरोजगार युवायुवतीलाई वैध रोजगारीको प्रलोभन देखाई उक्त गैरकानुनी गतिविधिमा संलग्न गराएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट दुई थान कम्प्युटर तथा मनिटर, आठ थान विभिन्न रजिस्टर तथा अभिलेख पुस्तिका, छ थान कुपन रसिद, चार थान स्ट्याम्प छाप तथा विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टी बरामद गरेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।




