पोखरा । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन क्षेत्रका साझा समस्या तथा आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन बोर्डका कार्यकारी सदस्य नियुक्तिपछि आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा उनले पर्यटन प्रवर्द्धन, गन्तव्य संरक्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी उपस्थितिलाई आगामी कार्ययोजनाको मुख्य प्राथमिकता बनाइने बताए।
उनले नेपाल पर्यटन बोर्डको मूल भूमिका अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणभन्दा पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार–प्रसार तथा स्रोत बजारमा नेपालको उपस्थितिलाई विस्तार गर्नुपर्ने बताए। धेरैभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्र्याउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै पोखराबाट विभिन्न संस्थाले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा अवधारणासहित अन्तर्राष्ट्रिय बजारमा जान सके अझ प्रभावकारी परिणाम प्राप्त हुने धारणा राखे।
पोखरेलले बोर्ड गठनपछिको पहिलो चरणमा बजेट पारित, प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति तथा आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिए। बजेट स्वीकृत नभएकाले हाल बोर्डका नियमित कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै छिट्टै बैठक बसेर आवश्यक निर्णय गरिने बताए।

उनले सरकारले अब नयाँ पूर्वाधार निर्माणभन्दा पर्यटन प्रवर्द्धन, डिजिटल मार्केटिङ, प्रचार सामग्री उत्पादन तथा पर्यटकीय गन्तव्यको ब्रान्डिङमा लगानी गर्ने नीति लिएको जानकारी दिए। पुराना प्रवर्द्धन सामग्री समयानुकूल नभएकाले अन्तर्राष्ट्रिय स्तरका भिडियो, फोटो तथा डिजिटल सामग्री निर्माणलाई प्राथमिकता दिइने उनको भनाइ थियो।
पोखरेलले विदेशी ब्लगर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराई उनीहरूमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचार–प्रसार गर्ने रणनीतिमा बोर्डले काम गरिरहेको बताए। साथै, नयाँ पर्यटकीय गन्तव्यको पहिचानसँगै विद्यमान गन्तव्यको संरक्षण, व्यवस्थापन तथा पर्यटकमैत्री पूर्वाधार विस्तारमा पनि जोड दिइने उल्लेख गरे।
उनले पोखरालाई साहसिक पर्यटनसँगै वेलनेस र आध्यात्मिक पर्यटन (स्पिरिचुअल टुरिज्म) को केन्द्रका रूपमा विकास गर्ने सम्भावना रहेको उल्लेख गर्दै ताल, हिमश्रृङ्खला, नदी तथा प्राकृतिक सम्पदालाई आधार बनाएर नयाँ पर्यटन उत्पादन विकास गर्न सकिने बताए।
उनले पर्यटन क्षेत्रका व्यवसायी, सञ्चारमाध्यम र सरोकारवालाबाट प्राप्त सुझावलाई संकलन गरी बोर्डको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन प्रवर्द्धन र संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।




