newa srijana

वालिङमा जडिबुटी खेती प्रवर्द्धन अभियान सुरु

१५० रोपनी बाँझो जग्गामा तुलसीसहित बहुमूल्य जडिबुटी खेती

पोखरा । खाली तथा बाँझो जग्गाको सदुपयोग गर्दै जडिबुटी खेतीमार्फत स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले वालिङ नगरपालिकाले जडिबुटी खेती प्रवर्द्धन अभियान सुरु गरेको छ।

नगरपालिका–८ कुमस्वाँरा क्षेत्रमा एक हजार वटा तुलसीका बिरुवासहित विभिन्न बहुमूल्य जडिबुटी तथा वनस्पतिका बिरुवा रोपेर अभियानको शुभारम्भ गरिएको हो। आचार्य बालकृष्णको जन्मस्थलसमेत रहेको कुमस्वाँरालाई जडिबुटी उत्पादन तथा प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको योजना छ।

नगरपालिकाकी उपप्रमुख कविता गैह्रेले आचार्य बालकृष्णको जन्मभूमिको पहिचानलाई प्रवर्द्धन गर्दै भारतीय कम्पनी पतञ्जलीसँगको सहकार्यमा स्वरोजगारमूलक तथा आयआर्जनमुखी जडिबुटी खेती विस्तार गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताइन्।

नगरपालिकाले जडिबुटी उत्पादनका लागि १५० रोपनी जग्गा १५ वर्षका लागि वार्षिक दुई लाख रुपैयाँ भाडामा लिएको छ। सार्वजनिक तथा निजी बाँझो जग्गाको सदुपयोग गर्दै तुलसीलगायत बहुमूल्य जडिबुटी उत्पादन गरी उक्त क्षेत्रलाई बोटानिकल गार्डेन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सिटीजन फनिच्रर

पहिलो चरणमा तुलसीसँगै सिउलीघाँस, काउँचो, घोडटाप्रे लगायतका विभिन्न प्रजातिका जडिबुटी रोपिएको नगरपालिकाले जनाएको छ। नगरभित्र पाइने जडिबुटी तथा वनस्पतिको पहिचान, संरक्षण र व्यवस्थापन गर्दै उत्पादन विस्तार गरिनेछ। नगरपालिकाले आफ्नै जडिबुटी नर्सरी स्थापना गरेको छ भने सर्वसाधारणलाई पनि बहुमूल्य बिरुवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

उत्पादित जडिबुटीको बिक्री–वितरणका लागि पतञ्जलीसँग खरिद तथा आवश्यक सहकार्यबारे समझदारी भइसकेको नगरपालिकाले जनाएको छ। अभियानअन्तर्गत करिब दुई सय कृषक परिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

नगरप्रमुख कृष्ण खाँणले प्राकृतिक स्रोतको उचित पहिचान र व्यावसायिक उपयोग हुन नसक्दा बहुमूल्य जडिबुटी खेर गइरहेको उल्लेख गर्दै जडिबुटी खेतीले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

हरिशयनी एकादशीको अवसर पारेर सुरु गरिएको अभियानबाट प्राकृतिक जडिबुटीको संरक्षण, बाँझो जग्गाको सदुपयोग तथा स्थानीयस्तरमै स्वरोजगार र आयआर्जनका अवसर विस्तार हुने नगरपालिकाको अपेक्षा छ।

Pokhara learners