newa srijana

स्याङ्जामा ९० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न

नियमित वर्षाले सिँचाइ सहज, केही दक्षिण–पश्चिमी क्षेत्रमा मात्रै रोपाइँ बाँकी

पोखरा । स्याङ्जामा चालु वर्षको धान रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको छ। साउनको दोस्रो सातासम्म जिल्लाको करिब ९० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ।

कार्यालयका अनुसार जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १२ हजार ३१५ हेक्टरमा रोपाइँ सकिएको छ। उत्तरी भेगका अधिकांश क्षेत्रमा असारभित्रै रोपाइँ सम्पन्न भए पनि दक्षिण–पश्चिमी क्षेत्रका केही फाँटमा भने अझै रोपाइँ जारी छ।

फेदीखोला, पुतलीबजार, आँधीखोला, अर्जुनचौपारी तथा भीरकोटका अधिकांश धान उत्पादन क्षेत्रको रोपाइँ सम्पन्न भइसकेको छ। कालीगण्डकी नदी आसपासका चापाकोट टार, गल्याङ, जिमुहा, बिर्घा, ज्याग्दीखोला तथा आँधीखोला किनार क्षेत्रका किसान भने अझै रोपाइँमा व्यस्त रहेका छन्। कृषि प्राविधिकबाट प्राप्त विवरणका आधारमा जिल्लाभर औसतमा करिब १० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ बाँकी रहेको कार्यालयले जनाएको छ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

कृषि अधिकृत नारायण पाठक का अनुसार यस वर्ष नियमित वर्षा भएकाले अधिकांश धानखेतमा सिँचाइको समस्या देखिएको छैन। मौसम अनुकूल रहेकाले बाँकी क्षेत्रको रोपाइँ पनि केही दिनभित्रै सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए।

स्याङ्जाको चापाकोट टार, साँखर, जिमुहा, पकान, डौँवा, सातुपसल, लामागे, ठूलीबेशी, बिरुवा तथा आँधीखोला, ज्याग्दीखोला र दरौँखोला आसपासका क्षेत्र जिल्लाका प्रमुख धान उत्पादन पकेटका रूपमा चिनिन्छन्।

पछिल्ला वर्षहरूमा जिल्लामा उन्नत जातका धानप्रति किसानको आकर्षण बढ्दै गएको छ। अहिले रामधान, सावित्री, सुनौलो सुगन्ध र सामा मन्सुली लगायत उन्नत जातका धानको खेती विस्तार भइरहेको छ। साथै च्याम्पियनजस्ता हाइब्रिड जातको खेती पनि बढ्दै गएको छ भने रैथाने अनदी, काला र नमक जातका धानको खेतीसमेत निरन्तर रहेको कार्यालयले जनाएको छ।

यता बढ्दो सहरीकरण, सडक विस्तार र घरघडेरी निर्माणका कारण खेतीयोग्य जमिन वर्षेनी घट्दै गएको कृषि विकास कार्यालयले जनाएको छ। यसले धान खेती हुने क्षेत्रफल खुम्चिँदै गएको मात्र होइन, समयमै रासायनिक मल उपलब्ध नहुँदा उत्पादन र उत्पादकत्वमा समेत असर परेको कार्यालयको भनाइ छ।

Rabin photo