पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीमा बाघको आक्रमणबाट १० वटा बाख्रा तथा बोका मरेका छन्।
स्थानीय श्याम रानाको घर नजिकै रहेको खोरमा राखिएका बाख्रा–बोकामाथि सोमबार राति बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थी अनुसार आक्रमणबाट ९ वटा बाख्रा–बोका घटनास्थलमा मृत अवस्थामा फेला परेका छन्। एउटा बाख्रा भने फेला परेको छैन। उक्त बाख्रा पनि बाघले लगेको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जयपतेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान तथा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।




