पोखरा । गण्डकी प्रदेशमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएसँगै बीवाइडीले बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गरेको छ। कम्पनीले पोखरा महानगरपालिका–१० बुद्धचोकमा आधिकारिक थ्री–एस (बिक्री, सर्भिस र स्पेयर पार्ट्स) सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। नयाँ सेन्टरमार्फत बीवाइडी प्रयोगकर्ताले अब मर्मत, ब्याट्री परीक्षण, स्पेयर पार्ट्स तथा प्राविधिक सेवा कम्पनीकै आधिकारिक सञ्जालबाट लिन सक्नेछन्।
साइमेक्स इंक प्रालिको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले सञ्चालनमा ल्याएको सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। सेन्टर सञ्चालनमा आएसँगै गण्डकी प्रदेश र आसपासका क्षेत्रका ग्राहकका लागि बीवाइडीको बिक्रीपछिको सेवा थप सहज हुने अपेक्षा गरिएको छ।
यसअघि पोखराका बीवाइडी प्रयोगकर्ताले कम्पनीबाट तालिमप्राप्त तेस्रो पक्षीय सर्भिस पार्टनरमार्फत सेवा लिँदै आएका थिए। नयाँ सेन्टरसँगै बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको पूर्ण थ्री–एस सुविधा पोखरामै उपलब्ध भएको छ।

नेपालभर ११ हजारभन्दा बढी बीवाइडीका विद्युतीय सवारी सञ्चालनमा रहेको फ्ल्यास मोबिलिटी प्रालिकी निर्देशक अनिता रानाभाटले जानकारी दिइन्। सवारी संख्या बढ्दै जाँदा ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउन सेवा सञ्जाल विस्तार गरिएको उनको भनाइ छ।
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टर विद्युतीय सवारीको मर्मत तथा सेवाका लागि आवश्यक पूर्वाधारसहित तयार गरिएको छ। सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीका लागि छुट्टै कार्यक्षेत्र, जेन्युइन बीवाइडी स्पेयर पार्ट्सको भण्डारण तथा भेइकल वासिङ बेको व्यवस्था गरिएको छ।

नयाँ सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ। ग्राहकले नियमित सर्भिसिङ, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल मर्मत, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सुविधा पाउनेछन्।
ग्राहक सेवाका लागि छुट्टै सर्भिस एडभाइजर तथा ग्राहक सम्बन्ध व्यवस्थापन टोलीको व्यवस्था गरिएको छ। कम्पनीले सवारी खरिदपछि पनि ग्राहकसँगको सम्बन्ध र सेवालाई निरन्तरता दिने जनाएको छ।
बीवाइडीको सवारी खरिद गर्नु ग्राहकसँगको सम्बन्धको सुरुआत भएको साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बताए। स्वामित्व अवधिभर ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको जिम्मेवारी रहेको उनको भनाइ छ।
पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक र जेन्युइन पार्ट्ससहित ग्राहककेन्द्रित सेवा विस्तारको निरन्तरता भएको तण्डुकारले बताए। नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला देशव्यापी सेवा सञ्जाललाई थप बलियो बनाउँदै लैजाने कम्पनीको योजना रहेको उनले उल्लेख गरे।

बीवाइडी नेपालले बिक्रीपछिको सेवा सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। पोखराको नयाँ सेन्टरलाई कम्पनीले सेवा विस्तारको अर्को चरणका रूपमा लिएको छ।
नेपालमा विद्युतीय सवारीको बजार विस्तारसँगै सर्भिस इकोसिस्टम निर्माणमा पनि लगानी बढाउँदै लगिएको कम्पनीले जनाएको छ। पोखराको नयाँ सेन्टरबाट गण्डकी प्रदेश र आसपासका ग्राहकले नियमित मर्मतदेखि ब्याट्री परीक्षण, वारेन्टी, स्पेयर पार्ट्स र आकस्मिक सडक सहायता लगायतका सेवा एउटै आधिकारिक सञ्जालबाट लिन सक्नेछन्।




