newa srijana

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

गुरुङ समुदायको जीवन, संस्कार र पारिवारिक सम्बन्धको कथा भदौ २६ देखि पर्दामा

पोखरा । गुरुङ समुदायको सामाजिक परिवेश, पारिवारिक सम्बन्ध र जीवन भोगाइलाई कथावस्तु बनाइएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ। माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

टिजरले प्रेम, त्याग, संघर्ष र आत्मसम्मानसँगै पेन्सनसँग जोडिएको पारिवारिक तथा सामाजिक पक्षलाई केन्द्रमा राखेको संकेत गर्छ। चलचित्रमा पेन्सनलाई आर्थिक सुविधाका रूपमा मात्र नभई परिवारको आशा, भविष्य र जीवन धान्ने आधारका रूपमा चित्रण गरिएको छ।

टिजरमा दयाहाङ राई, स्वर्गीय सुनिल थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पंचसुब्बा गुरुङ (दिल), माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, पुस्कर गुरुङ, राज थापा, डीबी गुरुङ, अनुसा राई, मनोज गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, लुभिना तुलाधर र सुरज तमुलगायत कलाकार देखिएका छन्।

“पेन्सन पट्टा कागजको टुक्रा मात्रै होइन, जीवन चलाउने आधार पनि हो” भन्ने संवादले चलचित्रको मूल कथाको भावलाई प्रस्ट पार्छ। पात्रहरूको भावनात्मक उतारचढाव, पारिवारिक जिम्मेवारी र सामाजिक यथार्थलाई टिजरमा प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको छायाङ्कन कास्कीको ताङतिङसहित पोखराका विभिन्न स्थानमा गरिएको हो। निर्माण पक्षका अनुसार चलचित्र गुरुङ समुदायको संस्कार, संस्कृति, सामाजिक परिवेश र पारिवारिक जीवनमा आधारित भए पनि यसले नेपाली समाजका साझा पारिवारिक भावना र सम्बन्धका पक्षलाई समेटेको छ।

सिटीजन फनिच्रर

निर्देशक गुरुङले ‘पेन्सन पट्टा’ कुनै एक समुदायको कथा मात्र नभई समाजमा देखिने पारिवारिक सम्बन्ध, त्याग, पीडा र आत्मसम्मानसँग जोडिएको यथार्थ कथा भएको बताए।

“हामीले यो चलचित्रमार्फत गुरुङ समुदायको एउटा वास्तविक जीवन भोगाइलाई पर्दामा उतार्ने प्रयास गरेका छौं,” उनले भने, “पेन्सन पट्टा केवल कागज होइन, धेरै परिवारको जीवन धान्ने आधार हो। त्यससँग जोडिएका सम्बन्ध, प्रेम, त्याग र आत्मसम्मानका पक्षलाई दर्शकले आफ्नै परिवारको कथाजस्तै महसुस गर्ने विश्वास लिएका छौं।”

उनका अनुसार चलचित्रले गुरुङ समुदायको मौलिक जीवनशैली र संस्कृतिलाई प्रस्तुत गरे पनि यसको कथामा रहेका पारिवारिक भावना र सम्बन्धका विषय सबै समुदायका दर्शकसँग जोडिन सक्नेछन्। उनले नेपाली मौलिक कथामा आधारित चलचित्रलाई साथ दिन दर्शकलाई आग्रह गरेका छन्।

यसअघि चलचित्रमा समावेश ‘जुनीजाला’ गीत सार्वजनिक भइसकेको छ। उक्त गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ।

अनुभवी कलाकारको अभिनय, गुरुङ समुदायको मौलिक सामाजिक परिवेश र भावनात्मक कथावस्तुलाई आधार बनाइएको ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।

Pokhara learners