पोखरा । नेपालमा संघीय शासन व्यवस्थाका अवसर र चुनौतीबारे पोखराका किशोर विद्यार्थीले बहस गरेका छन्। संसदीय पत्रकार मञ्च गण्डकीले शुक्रबार पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले संघीयताको कार्यान्वयन, उपलब्धि, चुनौती र सुधारका पक्षमा आफ्ना धारणा प्रस्तुत गरे। प्रतियोगितामा सुजना पौडेल प्रथम भइन्।
११ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी पौडेलले संघीयताले स्थानीय पहिचान संरक्षणसँगै स्थानीय स्रोतसाधनको परिचालनमार्फत राष्ट्रिय एकतालाई थप बलियो बनाउन सक्ने बताइन्। प्रतियोगितामा कुबेर पाण्डे द्वितीय, प्रशंसा शर्मा तृतीय तथा अनिल यादवले सान्त्वना स्थान हासिल गरे।
विद्यार्थीहरूले संघीयताले नागरिकलाई अधिकारसम्पन्न बनाउनुका साथै सिंहदरबारमा केन्द्रित अधिकार गाउँसम्म पुर्याएको धारणा राखे। उनीहरूले नागरिकता, जन्मदर्तालगायत सेवा आफ्नै वडाबाट प्राप्त गर्न सक्नु संघीयताको महत्वपूर्ण उपलब्धि भएको बताए।
दोस्रो भएकी पाण्डेले संघीयताले नीति निर्माणको तहमा महिला, दलित र जनजातिको प्रतिनिधित्व बढाएको बताइन्। काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य भए पनि अधिकारको बाँडफाँटमा अझै स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
तेस्रो भएकी शर्माले संघीयताको सफलताका लागि व्यवस्था मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण हुने बताइन्। संघीयता असफल नभएको भन्दै उनले यसलाई प्रभावकारी बनाउन इमानदार नेतृत्व र सक्षम प्रशासन आवश्यक रहेको धारणा राखिन्।

विद्यार्थी समृद्धि पौडेलले संघीयतालाई रुखसँग तुलना गर्दै केन्द्रलाई जरा, प्रदेशलाई हाँगा, स्थानीय तहलाई पात र नागरिकलाई त्यसको फलका रूपमा व्याख्या गरिन्। नेहा थापाले स्थानीय तहले स्थानीय समस्या नजिकबाट बुझ्ने भएकाले विकासले गति लिन सक्ने बताइन्।
त्यसैगरी अनुप विक र स्वस्तिक परियारले संघीयता खर्चिलो बन्दै गएको र भ्रष्टाचार चुनौतीका रूपमा देखिएको धारणा राखे। दुर्गम क्षेत्रमा अझै विकासको अनुभूति हुन नसकेको तथा बजेटको प्रभावकारी सदुपयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो। संजय आचार्यले संघीयतालाई साझा भविष्यको आधारका रूपमा व्याख्या गरे।
संसदीय पत्रकार मञ्चका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाले नयाँ पुस्तालाई संघीय शासन व्यवस्था, कानुन निर्माण प्रक्रिया र संसद्को क्षेत्राधिकारबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले सामाजिक अध्ययनसँगै विद्यार्थीको व्यावहारिक ज्ञान र अभिव्यक्ति क्षमता विकासका लागि यस्ता बहस प्रभावकारी हुने बताए।
प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा नेहा थापा, उपासना बराल, करुणा जमकट्टेल, करुणा ओझा, अनुप विक र स्वस्तिक परियारले पनि सहभागिता जनाएका थिए। शिक्षकद्वय आत्माराम अधिकारी र किरण अधिकारी निर्णायक थिए।
कक्षा ११ मा कानुन अध्ययनरत भूमिका राना र किस्मत विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा हायुन श्रेष्ठले समय व्यवस्थापनको जिम्मेवारी सम्हालेकी थिइन्। कार्यक्रममा ६० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।




