newa srijana

लायन्सको स्वास्थ्य शिविरमा एक सय पचास भन्दा बढी लाभान्वित

शिशुवामा ज्येष्ठ नागरिकसहित स्थानीयको स्वास्थ्य परीक्षण तथा परामर्श

पोखरा । लायन्स क्लब अफ पोखरा नेचुरल टाउनले पोखरा महानगरपालिका–३० शिशुवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन्। शिविरमा बाथ, नसासम्बन्धी समस्या, मधुमेह तथा उच्च रक्तचापलगायत स्वास्थ्य समस्याको परीक्षणसँगै चिकित्सकीय परामर्श दिइएको थियो।

शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर डाइनेष्टिसको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सहभागीको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श दिइएको आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक एवं लायन्स क्लबका पूर्वअध्यक्ष सुन्दर शर्मा पौडेलले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। आवश्यकता भएका स्थानमा सामाजिक सेवा पुर्‍याउने लायन्स क्लबको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए।

सिटीजन फनिच्रर

पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य तथा सामाजिक सुरक्षाका लागि परिवार र समुदायको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

लायन्स क्लब अफ पोखरा नेचुरल टाउनकी अध्यक्ष समीक्षा तिमिल्सेनाले ज्येष्ठ नागरिकप्रति सम्मान र सेवा गर्नु सामाजिक दायित्व भएको बताइन्। ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताइन्।

कार्यक्रममा लाइफ केयर अस्पताल पोखराका अध्यक्ष पुरुषोत्तम सुवेदी, डा. विद्याभूषण ताम्राकार तथा क्लबका सचिव बुद्धिराम सुवेदीलगायतले स्वास्थ्य तथा सामाजिक सेवाका विषयमा धारणा राखेका थिए।

Pokhara learners