newa srijana

पोउवा संघले बनायो चौतारी, नारेश्वर रोपेर संरक्षणको जिम्मा लियो

पोखरा । पोखरा–४ गैह्रापाटनमा सार्वजनिक विश्रामस्थलका रूपमा नयाँ चौतारी निर्माण गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको सचिवालयअगाडि स्थानीय समुदाय र वडा कार्यालयको सहकार्यमा निर्माण गरिएको चौतारीमा नारेश्वरको बिरुवा रोपेर आइतबार पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले अनावरण गरेका हुन्।

यसअघि पनि सोही स्थानमा चौतारी रहेको थियो। चौतारीमा रहेको राजवृक्ष सुकेपछि त्यसको पुनर्निर्माण गरी नयाँ बिरुवा रोपिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले जानकारी दिए।

चौतारी निर्माण अभियानमा वडा कार्यालय तथा स्थानीय आमा समूहले सहयोग गरेको र स्थानीयवासीको सहमतिमा चौतारी निर्माण गरिएको कार्कीले बताए। चौतारी निर्माणसँगै संघले समुदायसँग सहकार्य गरेर रोपिएको बिरुवा हुर्काउने तथा चौतारीको संरक्षण गर्ने जनाएको छ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

चौतारीको अनावरण गर्दै वडाध्यक्ष पराजुलीले पोखरा चौतारी नै चौतारीको सहरका रूपमा परिचित रहेको स्मरण गरे। उनले वडा कार्यालयले पोखरा–४ का विभिन्न पाँच स्थानमा यस्तै चौतारी निर्माण गरेको जानकारी दिए।

स्थानीय लक्ष्मीदेवी पराजुलीले चौतारी निर्माणसँगै गैह्रापाटनमा थप एउटा विश्रामस्थल बनेको बताइन्।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्यले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गरेकी थिइन्।

Rabin photo