पोखरा । नेपाली अनलाइन व्यवसायीले सामाजिक सञ्जालमा ग्राहकसँग गर्ने कुराकानीदेखि अर्डर, स्टक व्यवस्थापन र सामान डेलिभरीसम्मका दैनिक काम एउटै प्रणालीबाट व्यवस्थापन गर्न सक्ने भएका छन्। पठाओले अनलाइन व्यापारलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेसँगै यस्तो सुविधा उपलब्ध भएको हो।
पठाओ पार्सलमार्फत हाल १२ हजारभन्दा बढी व्यवसायीलाई नेपालभर सामान डेलिभरी गर्न समन्वय गर्दै आएको कम्पनीले ‘सिम्प्लीफाइ योर अनलाइन बिजनेस’ अवधारणासहित पठाओ कमर्स सार्वजनिक गरेको जनाएको छ। प्रणालीमार्फत सामाजिक सञ्जाल, अर्डर, इन्भेन्ट्री, वेबसाइट तथा डेलिभरीलगायत व्यवसायका विभिन्न काम एउटै स्थानबाट व्यवस्थापन गर्न सकिनेछ।
पठाओ कमर्समा हाल फेसबुक र ह्वाट्सएपका सन्देशलाई एउटै इनबक्समा ल्याएर ग्राहकसँग कुराकानी गर्दागर्दै अर्डर लिन सकिने व्यवस्था गरिएको छ। प्राप्त अर्डरलाई पठाओ पार्सलमार्फत नेपालभर डेलिभरी गर्न सकिनेछ। आगामी दिनमा इन्स्टाग्राम र टिकटकलाई समेत प्रणालीमा जोड्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार च्याटबाट अर्डर लिने हुँदै डेलिभरीसम्मको प्रक्रियालाई एउटै प्रवाहमा जोड्ने सुविधा नेपालमा पहिलोपटक पठाओ कमर्सले उपलब्ध गराएको हो। व्यवसायीले दराज एप, आफ्नै वेबसाइट तथा अन्य अनलाइन स्टोरलाई समेत पठाओ कमर्समा जोडेर विभिन्न माध्यमबाट प्राप्त अर्डर र स्टक एउटै ड्यासबोर्डबाट व्यवस्थापन गर्न सक्नेछन्। शपिफाई र वु–कमर्सजस्ता प्लेटफर्मलाई पनि आगामी दिनमा जोडिने कम्पनीको भनाइ छ।

पठाओ कमर्सबाट व्यवसायीले आफ्ना लागि निःशुल्क वेबसाइट बनाउन तथा आफ्नो अनलाइन स्टोरलाई पठाओ शपमा समेत लाइभ गर्न सक्नेछन्। वेबसाइट, सामाजिक सञ्जाल र पठाओ शपबाट प्राप्त अर्डरलाई एउटै स्थानबाट व्यवस्थापन गरी पठाओ पार्सलमार्फत डेलिभरी गर्न सकिने व्यवस्था गरिएको छ।
सामाजिक सञ्जालमार्फत व्यापार गर्ने व्यवसायी, दराज एपका बिक्रेता, साना तथा मझौला व्यवसाय र व्यवसाय–उन्मुख नेपाली ब्रान्डलाई लक्षित गरिएको पठाओ कमर्स सुरुमा एक हजार व्यवसायलाई चालु आर्थिक वर्षभर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। नयाँ दर्ता हुने व्यवसायीले ३० दिनको निःशुल्क ट्रायलसमेत पाउनेछन्।
निःशुल्क अवधिपछि पठाओ कमर्स मासिक चार हजार ९९९ रुपैयाँ वा वार्षिक ४९ हजार ९९९ रुपैयाँमा प्रयोग गर्न सकिनेछ। कम्पनीका अनुसार यस्तै प्रकृतिका डिजिटल प्रणालीको बजार मूल्य वार्षिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्छ।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले नयाँ प्रणालीले नेपाली व्यवसायीको दैनिक सञ्चालनलाई सरल बनाउँदै डिजिटल बजारमा प्रतिस्पर्धी बन्न सहयोग गर्ने बताए। उनका अनुसार पठाओ कमर्स आगामी पाँच वर्षमा नेपालको डिजिटल अर्थतन्त्रलाई १० गुणाले विस्तार गर्ने कम्पनीको लक्ष्यतर्फको एउटा कदमसमेत हो।




