newa srijana

मोदीखोलाको बाढीले अन्नपूर्णमा पाँच घरमा क्षति, सडक अवरुद्ध

माता अन्नपूर्ण मन्दिरमा अल्झिएका तीन जनाको सकुशल उद्धार

पोखरा । लगातारको वर्षापछि मोदीखोलामा आएको भीषण बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा पाँच घरसहित सडक तथा विद्युत् संरचनामा क्षति पुर्‍याएको छ । बाढी र पहिरोका कारण गाउँपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् भने अन्नपूर्ण–५ स्थित माता अन्नपूर्ण मन्दिरमा अल्झिएका तीन जनाको सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको समन्वयमा सकुशल उद्धार गरिएको छ ।

अन्नपूर्ण–८ स्थित वीरेठाँटी बजारको सडकखण्डमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । गाउँपालिकाका वडा नम्बर ७, ८, ९, १० र ११ का विभिन्न सडकसमेत बाढी तथा पहिरोका कारण अवरुद्ध भएका छन् । केही स्थानमा विद्युत्का पोलसमेत बगेका छन् ।

सिटीजन फनिच्रर

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बाढी तथा पहिरोका कारण पाँच घरमा क्षति पुगेको छ भने विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति भएको छ । उनले प्राकृतिक विपत्तिका कारण गाउँपालिकामा ठूलो क्षति पुगेको भन्दै स्थानीयवासीलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।
“प्रकृतिले अन्नपूर्णलाई अन्याय गरेको छ । सबै जना सुरक्षित र होसियारीपूर्वक रहनुहोस् । धैर्यपूर्वक रहन अनुरोध गर्दछु । गाउँपालिका यहाँहरूको साथमा रहेको छ,” केसीले भने ।

अन्नपूर्ण–९ का वडा अध्यक्ष रमेश गुरुङका अनुसार वीरेठाँटी, स्याउलीबजार, चिमरुङलगायत क्षेत्रमा मोदीखोलाको कटान तीव्र बनेको छ । कटानका कारण आसपासका बस्ती जोखिममा परेका छन् ।


लगातार वर्षा भइरहेकाले अन्नपूर्ण क्षेत्रमा थप बाढी, पहिरो तथा नदी कटानको जोखिम कायमै रहेको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीलाई जोखिमयुक्त क्षेत्रबाट टाढा रहन तथा खोलानाला र नदी किनारमा नजान आग्रह गरिएको छ ।

Pokhara learners