newa srijana

स्याङ्जामा साउनभर २१ अपराध दर्ता, चार जनाको आत्महत्या

प्रहरी तथ्यांकअनुसार सात सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना गम्भीरसहित नौ जना घाइते

पोखरा । स्याङ्जामा साउन महिनाको २९ गतेसम्म २१ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार तीमध्ये पाँच वटा मुद्दा फर्छ्योट भएका छन् भने १६ वटा अनुसन्धान तथा कारबाहीको प्रक्रियामा छन्। दर्ता भएका मुद्दामा १३ जना प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार सबैभन्दा बढी भवितव्य ज्यान र अभद्र व्यवहारका चार–चार मुद्दा दर्ता भएका छन्। झुन्डिएर मृत्युका चार, जबर्जस्ती करणीका तीन तथा फुटकर ज्यान, सवारी ज्यान, लागूऔषध, बाल यौन दुरुपयोग, साधारण चोरी र बैंकिङ कसुरका एक–एक मुद्दा दर्ता भएका छन्।

यस अवधिमा जिल्लामा चार जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा तीन पुरुष र एक महिला छन्। चापाकोट, गल्याङ, वालिङ र पुतलीबजारका विभिन्न स्थानमा भएका चार घटनामध्ये सबैले झुन्डिएर आत्महत्या गरेको प्रहरी विवरणमा उल्लेख छ। त्यस्तै तीन जनाले आत्महत्याको प्रयास गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ चार वटा उजुरी परेकोमा तीन वटा मिलापत्रबाट टुंगिएका छन् भने एउटा बाँकी छ। त्यस्तै हराएका १४ जनामध्ये आठ जना फेला परेका छन् भने छ जना अझै फेला पर्न बाँकी छन्।

प्रहरीले फैसला कार्यान्वयनअन्तर्गत १३ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ। उनीहरूबाट एक महिना कैद तथा २३ हजार ४२० रुपैयाँ ६ पैसा जरिवाना असुल भएको विवरणमा उल्लेख छ।

साउनमा प्रहरीले चोरी, मानव बेचबिखन, जबर्जस्ती करणी र लागूऔषधसम्बन्धी घटनामा संलग्न आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। वालिङमा चेकजाँचका क्रममा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् भने विरुवा गाउँपालिकाको जंगलबाट भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने केप, छर्रा र बारुदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर

अपराध नियन्त्रणतर्फ प्रहरीले जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका करिब एक हजार ७९० गाँजाका बोट नष्ट गरेको छ। वालिङ र चापाकोटका विद्यालय तथा ग्रामीण क्षेत्रबाट बिक्रीका लागि राखिएको करिब १८० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ। त्यस्तै बिलबिजकबिनाको करिब एक लाख ८० हजार ३०० रुपैयाँ बराबरको विद्युतीय सामग्री बरामद गरिएको छ।

शान्ति सुरक्षा कायम गर्न साउनमा प्रहरीले एक हजार ४४४ पटक विभिन्न प्रकारका गस्ती तथा चेकिङ गरेको छ। यसमा ४०६ पिकेट, ३४८ चेकिङ, १०४ ग्रामीण गस्ती, तीन लामो दूरीको गस्ती र ५८३ छोटो दूरीको गस्ती रहेको प्रहरी तथ्यांकमा उल्लेख छ।

ट्राफिकतर्फ साउनमा सात वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र छ जना सामान्य घाइते भएका छन्।

विपद्का १० घटनामा एक जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोका कारण घर तथा गोठमा क्षति पुगेको छ भने पशुचौपायासमेत मरेका छन्। पुतलीबजारको अरौदी खोलाले बगाएका २१ वर्षीय सलिम मगरलाई प्रहरीले खोजतलासका क्रममा मृत अवस्थामा फेला पारेको थियो। बाढीका कारण गल्याङको सेतीबेणी क्षेत्रमा पानी पसेपछि प्रहरीले स्थानीयको उद्धारसमेत गरेको जनाएको छ।

प्रहरीले अपराध न्यूनीकरण तथा नागरिक सचेतनाका लागि ११६ वटा कार्यक्रम सञ्चालन गरी दुई हजार ५९१ जनालाई सहभागी गराएको जनाएको छ। मानव बेचबिखन, लागूऔषध दुरुपयोग, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, साइबर अपराध तथा अनलाइन ठगी, विपद् व्यवस्थापन र ट्राफिक सचेतनालगायत विषयमा विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको छ।

आत्महत्या न्यूनीकरणका लागि जिल्ला स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल र समुदाय प्रहरी साझेदारीको बैठकसमेत गरिएको छ। बैठकमा आत्महत्याको अवस्था, जोखिममा रहेका व्यक्तिको पहिचान तथा व्यवस्थापन, मानसिक स्वास्थ्य प्रवर्द्धन र रोकथामका लागि आगामी कार्ययोजनाबारे छलफल भएको प्रहरी विवरणमा उल्लेख छ।

Pokhara learners