पोखरा । नमोबुद्ध नगरपालिका–४ स्थित एक होटलबाट प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठ एक युवतीसहित पक्राउ परेका छन्।
स्थानीयले मध्यरातमा नमोबुद्ध होटलको कोठाबाट श्रेष्ठ र ती युवतीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा बुझाएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीले पुष्टि गरेका छन्।

घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ। भिडियोमा श्रेष्ठ प्रहरीको सरकारी सञ्चार सेट (वाकीटकी) सहित होटलको कोठामा देखिएका छन्।
श्रेष्ठ गत जेठ महिनामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ‘उत्कृष्ट प्रहरी’ घोषित भएका थिए। उत्कृष्ट प्रहरी घोषित अधिकारी नै होटलमा युवतीसहित पक्राउ परेपछि घटनाले चर्चा पाएको छ।
प्रहरीका अनुसार श्रेष्ठ र ती युवती दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। घटनाको विस्तृत विवरण तथा उनीहरूमाथि लाग्ने कानुनी कारबाही अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।




