newa srijana

पोखरा–२२ का २ सय परिवारलाई इन्डक्सन चुल्हो वितरण

एलपीजी ग्यासको निर्भरता घटाउन विद्युतीय चुल्होको प्रयोग बढाउने महानगरको लक्ष्य

पोखरा । पोखरा महानगरपालिका–२२ का २ सय परिवारलाई इन्डक्सन चुल्हो वितरण गरिएको छ। सोमबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीयलाई चुल्हो वितरण गर्नुभएको हो।

नगर प्रमुख आचार्यले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि त्यसको विकल्पका रूपमा नगरवासीलाई विद्युतीय चुल्हो उपलब्ध गराइएको बताउनुभयो। खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सके ग्यासमा रहेको परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन सकिने उहाँको भनाइ छ।

महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नगरवासीलाई सहज र भरपर्दो ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको जनाएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो। पोखरा–२२ का कालाबाङ, भुम्दीलगायत पाँच वटा टोलमा बसोबास गर्ने वडावासीलाई चुल्हो वितरण गरिएको वडा अध्यक्ष हिमलाल बरालले बताउनुभयो।

सिटीजन फनिच्रर

खाना पकाउने ग्यासको अभावका कारण नागरिकको चुल्हो निभ्ने अवस्था आएपछि वडावासीलाई सहुलियतमा चुल्हो उपलब्ध गराइएको उहाँले बताउनुभयो। उहाँका अनुसार अभियानअन्तर्गत वडामा करिब २ हजारभन्दा बढी चुल्हो वितरण गरिनेछ।

पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको शहरी योजना आयोगले तयार गरेको नगर ऊर्जा योजनाले वि.सं. २१०० (सन् २०४३) सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य राखेको छ।

पोखराको वर्तमान ऊर्जा उपभोगअनुसार खाना पकाउन प्रयोग हुने प्राथमिक इन्धनमा एलपीजीको हिस्सा ८४.२५ प्रतिशत छ। त्यस्तै बायोग्यासको हिस्सा ५.२५ प्रतिशत, काठदाउराको १०.२७ प्रतिशत र विद्युत्को हिस्सा ०.२३ प्रतिशत रहेको छ।

घरायसीस्तरमा एलपीजीमाथिको निर्भरता ९८.४५ प्रतिशत रहेको छ भने व्यावसायिक क्षेत्रमा यसको हिस्सा ८४.२५ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

Pokhara learners