पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बङ्गलादेशमा पोखराको प्राकृतिक सुन्दरता, संस्कृति, आतिथ्यता तथा साहसिक पर्यटनको प्रचारप्रसार गर्न बङ्गलादेशी फोटो पत्रकारलाई आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेको बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा आएको १२ सदस्यीय टोलीसँगको भेटमा पोखराको पर्यटन प्रवद्र्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको हो।
भेटमा आचार्यले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको बताए। पोखरा फ्लाई दुबईमार्फत विश्वका चर्चित गन्तव्यसँग जोडिने क्रममा रहेको उल्लेख गर्दै उनले बङ्गलादेशबाट पोखरासम्म सम्भावित हवाई उडानका लागि बङ्गलादेश सरकारसँग आवश्यक पहल भइरहेको बताए।

बङ्गलादेशी टोलीका सदस्यले पोखराको प्राकृतिक सौन्दर्य र वातावरण आफूहरूलाई आकर्षक लागेको बताए। उनीहरूले यहाँ प्राप्त न्यानो आतिथ्यताको सन्देश बङ्गलादेशमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, नेपाल – बङ्गलादेशबीचको मित्रता तथा फोटो पत्रकारबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोखरा रङ्गशाला परिसरमा संयुक्त वृक्षारोपण गरिएको छ। बङ्गलादेशी र नेपाली फोटो पत्रकारको सहभागितामा आँप तथा विभिन्न फूलका बिरुवा रोपिएको हो।
कार्यक्रममा दुवै देशका प्रतिनिधिले संयुक्त रूपमा बिरुवा रोपेका थिए। पोखरा रङ्गशालालाई थप हरियाली बनाउने अभियानमा सहयोग पुर्याउनुका साथै नेपाल – बङ्गलादेशबीचको मित्रता र सहकार्यको दीर्घकालीन चिनोका रूपमा वृक्षारोपण गरिएको एनएफपीजे नेपालले जनाएको छ।
एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच विगत २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई प्रकृति तथा वातावरण संरक्षणसँग जोडेर स्मरणीय बनाउन वृक्षारोपण गरिएको बताए।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोग तथा समन्वयमा आयोजित कार्यक्रममा नेपाल र बङ्गलादेशका फोटो पत्रकार तथा अतिथिहरू सहभागी थिए। नेपालीतर्फ राष्ट्रिय फोटो पत्रकार महासङ्घका अध्यक्ष वन्त, पोखरा शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापा, सुनिल पाण्डे र दुर्गाप्रसाद हुमागाईँलगायत सहभागी थिए।
बङ्गलादेशी टोलीमा महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए.बी.एम. रफिकुर रहमान, वरिष्ठ सदस्य काजी रौनक हुसेन, पूर्वमहासचिव नुरुद्दिन अहमद, पूर्वअध्यक्ष शफी उद्दिन अहमद बिटु, कार्यकारी सदस्य महबुब हुसेन खान नोबिन, कोषाध्यक्ष नासिम शिख्देर, वरिष्ठ सदस्य सैयद जाकिर हुसेन र बुलबुल अहमद, चट गाउँ जिल्ला शाखाका सदस्य मोहम्मद मिन्हाज उद्दिन तथा कक्स बजार जिल्ला शाखाका अध्यक्ष नुरुल इस्लाम हेलाली सहभागी थिए।




