पोखरा । होटल क्षेत्रमा पानीको उचित उपयोग, फोहोरको पुनःप्रयोग तथा व्यवस्थापन र ऊर्जाको किफायती प्रयोगलाई प्रभावकारी बनाउँदै दिगो पर्यटन विकासमा अघि बढ्नुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ।
होटल संघ पोखरा नेपालको आयोजना तथा स्वीस कन्ट्याक्ट र युनाइटेड कम्युनिटी नेपालको प्राविधिक सहयोगमा शुक्रबार ‘डेभलपिङ इन्क्लुसिभ एन्ड ग्रिन अपरच्युनिटी (डिगो) हस्पिटालिटी एक्स्चेञ्ज–२०२६’ आयोजना गरिएको हो।
दिगो पर्यटन विकासका लागि होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। हरित पर्यटनको विकास, होटल व्यवसायीको हित तथा संख्यात्मकभन्दा गुणस्तरीय पर्यटनलाई प्राथमिकता दिँदै संघले विभिन्न संघसंस्थासँग सहकार्य गरिरहेको उनले बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पानीको उचित उपयोग होटल क्षेत्रका लागि मात्र नभई सबैका लागि महत्वपूर्ण रहेको बताए। आवश्यकताअनुसार मात्र पानी प्रयोग गर्दा पनि ठूलो परिमाणमा पानी जोगाउन सकिने उनको भनाइ थियो। उनले अमेरिकामा ‘इको टुरिजम’ र युरोपमा दिगो पर्यटनलाई प्राथमिकता दिने अभ्यास रहेको उल्लेख गर्दै पोखराले पनि दिगो पर्यटन विकासमा प्रगति गरिरहेको बताए।

युनाइटेड कम्युनिटी नेपाल (युनिकोन) का कार्यकारी निर्देशक विनोद न्यौपानेले होटल तथा पर्यटन क्षेत्रमा दिगो पर्यटन विकासको अभ्यासलाई प्राथमिकता दिन आफ्नो संस्थाले व्यवसायीसँग सहकार्य गरिरहेको बताए।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका विभागीय प्रमुख मनहर कडरियाले वातावरण संरक्षणसँगै कार्बन उत्सर्जन न्यूनीकरण आधुनिक विश्वको महत्वपूर्ण मुद्दा बनेको बताए।
कार्यक्रममा पर्यटन शिक्षा, पर्यटन प्रवर्द्धन, दिगो पर्यटन विकास, वातावरण संरक्षण, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन र पानी व्यवस्थापनलगायतका विषयमा विभिन्न संस्था तथा विज्ञले प्रस्तुति दिएका थिए। होटल क्षेत्रले हरित तथा दिगो पर्यटन विकासमा गरेका कामको प्रमाणीकरणमा सहयोग पुग्ने उपायबारे पनि छलफल गरिएको थियो।
कार्यक्रममा रोहिणी इन्जिनियरिङ सर्भिस प्रालि, जानकी इनर्जी प्रालि, प्रकृति कन्सल्ट प्रालि, फाइभ हन्ड्रेड बी सोलुसन प्रालि, डोको रिसाइकलर्स, स्मार्ट पानी प्रालि, अस्टक इन्जिनियर्स एन्ड कन्स्ट्रक्सन प्रालि र सस्टेनेबिलिटी सोलुसन्स नेपाल प्रालिलगायतका संस्था तथा विज्ञले प्रस्तुति दिएका थिए।




