newa srijana

फिस्टेल एकेडेमीमा मोडल युनाइटेड नेसन्सको तेस्रो संस्करण सुरु

पोखरा । पोखरास्थित फिस्टेल एकेडेमी (आईबी वर्ल्ड स्कुल) मा फिस्टेल मोडल युनाइटेड नेसन्स ३.० (एफएमयूएन ३.०) सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले विद्यालयले आयोजना गरेको मोडल युनाइटेड नेसन्स कार्यक्रमले विद्यार्थीलाई सिकाइप्रति थप जिम्मेवार बनाउने बताए। उनले वर्तमान समयका विद्यार्थीले एक्काइसौँ शताब्दीका चुनौती बुझेर तिनको समाधानमा अग्रसर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा पोखरा र पोखराबाहिरका तीन दर्जन विद्यालयका ८ सयभन्दा बढी विद्यार्थी सहभागी छन्। विद्यार्थीलाई संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विभिन्न २४ वटा समूह (कमिटी) मा विभाजन गरी कार्यशाला सञ्चालन गरिएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीले १ सय ८० देशका प्रतिनिधि (डेलिगेट्स) का रूपमा विश्वव्यापी समस्यासँगै तिनको समाधानका लागि संयुक्त राष्ट्रसङ्घले गर्ने पहलका विषयमा छलफल गर्नेछन्। यस अभ्यासबाट विद्यार्थीमा अनुसन्धानात्मक तथा सिर्जनात्मक सीप विकास हुनुका साथै तार्किक तथा कूटनीतिक विषयमा व्यावहारिक ज्ञान प्राप्त हुने आयोजकले जनाएको छ।

सिटीजन फनिच्रर

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी), नाटो, डाइसेक, यूएन वुमन, यूएनईए, यूएनएससी, यूएनओडीसी, युनिसेफ र युनेस्कोलगायत २४ वटा कमिटी समावेश छन्।

उद्घाटन सत्रमा विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई सिकाइ प्रक्रियामा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा यूएनडीपीका गण्डकी–लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, प्याब्सनका केन्द्रीय सल्लाहकार वीरबहादुर बुढाथोकी, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीका प्रतिनिधिलगायतको उपस्थिति थियो।

कक्षा ११ की छात्रा स्नेहा खड्काले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए।

कार्यक्रमको अन्तिम दिन आइतबार विद्यार्थीले आ–आफ्ना अवधारणा तथा छलफलका निष्कर्ष प्रस्तुत गर्नेछन्। सम्बन्धित विषयक्षेत्रका विज्ञले विद्यार्थीलाई आवश्यक सहजीकरण तथा मार्गदर्शन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

Pokhara learners