newa srijana

बाढीपहिरो प्रभावित अन्नपूर्ण गाउँपालिकालाई तमु धिं नेपालको ३ लाख सहयोग

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा तमु धिं नेपालले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

अविरल वर्षाका कारण मोदीखोलामा पटक–पटक आएको बाढीपहिरोले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८, ९, १० र ११ प्रवेश गर्ने सडक बिरेठाँटीदेखि नै अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा तत्काल सडक सञ्चालनका लागि गाउँपालिकाले सहयोगको आह्वान गरेको थियो । सोहीअनुसार तमु धिं नेपालले आइतबार आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरेको हो ।

तमु धिं नेपालले स्थापना गरेको आकस्मिक राहत कोषबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अध्यक्ष हुमबहादुर गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ र तमु धिं नेपाल अन्नपूर्ण गाउँपालिका अध्यक्ष श्याम गुरुङलगायतले अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नम्बर ९ का वडाध्यक्ष रमेश गुरुङ, वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङ र कार्यपालिका सदस्य भुपाल घर्तीलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मोदीको बाढीपहिरोले होटल तथा घरहरू बगाउनुका साथै अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ८, ९, १० र ११ मा यातायात सेवा अवरुद्ध भएकाले जनजीवन, स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति तथा पर्यटन व्यवसायमा दीर्घकालीन असर पुग्ने बताउनुभयो । तत्काल आवश्यक राहत तथा यातायात सञ्चालन हुने अवस्था बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो ।

उक्त प्रभावित चारवटै वडा तमुहरूको ऐतिहासिक गाउँबस्ती रहेको, प्रत्यक्ष प्रभावित हुनेमा तमु समुदायका नागरिकसमेत रहेको, चारवटै वडामा तमु वडाध्यक्ष रहेको तथा अन्नपूर्ण गाउँपालिका तमुमैत्री पालिकाका रूपमा रहेको कारण पनि तमु धिं नेपालले सहयोगको सुरुवात गरेको उहाँले बताउनुभयो ।

सिटीजन फनिच्रर

सहयोग ग्रहण गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बाढीपहिरोका कारण उत्पन्न विपद् व्यवस्थापनका लागि तमु धिं नेपालको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

मोदीको बाढीपहिरोबाट उत्पन्न विपद्मा संघीय सरकारले ध्यान नदिएको र प्रदेश सरकारसँग सहयोगका लागि आग्रह गर्दा केही सहयोगको वातावरण बनेको उहाँले बताउनुभयो । स्थानीय सरकार अन्नपूर्ण गाउँपालिका पनि आफ्नो क्षमताअनुसार जुटिरहेको उहाँको भनाइ थियो ।

साथसहयोगबाटै मोदीको बहावको धार फर्काउँदै सडक निर्माणका लागि प्रारम्भिक तयारीमा जुटिरहेको बताउँदै अध्यक्ष केसीले दसैँभित्र यातायात सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले नेपाली सेनाको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

आफू गुरुङ समुदायसँगै हुर्केबढेको र गुरुङ समुदायबाट सधैँ साथ पाएको बताउँदै अध्यक्ष केसीले अन्नपूर्ण गाउँपालिकाका ६ वटा वडा तमु बाहुल्य रहेकाले आफू सधैँ तमुप्रेमी रहेको बताउनुभयो ।

तमु धिं नेपालका अध्यक्ष गुरुङले विपद्का बेला सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको र प्राप्त सम्पूर्ण सहयोग बाटो निर्माणमै खर्च गरिने बताउनुभयो ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो ।

Pokhara learners