पोखरा । पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक सम्पन्न भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पक्षी अवलोकनमा समाजका ३२ सदस्य सहभागी भएका थिए ।
धम्पुसबाट शनिबार बिहान सुरु भएको कार्यक्रममा करिब तीन घण्टाको अवधिमा ६३ प्रजातिका चरा अभिलेख गरिएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत ज्ञान आदानप्रदान गरेका थिए । हाइकमा सहभागीहरू आइतबार पोखरा फर्किएका छन् ।
यस्ता कार्यक्रमले चराप्रति रुचि बढाउनुका साथै स्थानीयस्तरमा पक्षी संरक्षण र जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने पोखरा पंछी समाजका सल्लाहकार तथा नेपाल ओर्निथोलोजिकल युनियनका अध्यक्ष हटन चौधरीले बताए ।

पोखरा पंछी समाजले हरेक वर्ष समर र विन्टर गरी दुईवटा बर्ड हाइक तथा एकपटक बर्ड फेयर आयोजना गर्दै आएको छ । पाँचौँ शृंखलासम्म आइपुग्दा बर्ड हाइकप्रति पक्षीप्रेमी तथा प्रकृतिप्रेमीको उत्साह बढ्दै गएको समाजले जनाएको छ ।
आफू पक्षी अवलोकनमा नयाँ भए पनि पोखरा पंछी समाजले आयोजना गरेको कार्यक्रमबाट निकै प्रभावित भएको सहभागी ठाकुर बरालले बताए । आगामी दिनमा सम्भव भएसम्म समाजले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै उनले कार्यक्रममा चराहरू पहिचान गर्ने केही आधारभूत ज्ञान प्राप्त गर्ने अवसर मिलेको बताए । आगामी दिनमा पक्षी तथा तिनको बासस्थान संरक्षणका लागि जनचेतना फैलाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनको भनाइ थियो ।
चरा र प्राकृतिक बासस्थानको संरक्षण तथा पक्षीसम्बन्धी ज्ञान र अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको समाजका सचिव हेमन्त ढकालले बताए । नियमित बर्ड हाइकले स्थानीय समुदाय तथा युवालाई पक्षी संरक्षण अभियानसँग जोड्न सघाउने उनको अपेक्षा छ ।
कार्यक्रमको नेतृत्व समाजकी उपाध्यक्ष हिरा मल्ल र समन्वय कृपा गुरुङले गरेका थिए । पोखरा पंछी समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै पोखरा क्षेत्रलाई पक्षी तथा जैविक विविधता संरक्षणको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने जनाएको छ ।




