पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । भदौ २० र २१ गते हुने निर्वाचनका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेदवारी दर्ता गराएका हुन् । गौतम र आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका बुद्धाचार्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । आचार्य वाणिज्यतर्फका उपाध्यक्ष र गौतम महासचिव हुन् । पोखरेल यसअघि दुईपटक अध्यक्ष पदका प्रत्यासी बनेका थिए ।
वरिष्ठ उपाध्यक्ष पदमा गौतम प्यानलबाट टीकाराम सुवेदी र आचार्य प्यानलबाट दिनेशचन्द्र बास्तोलाको उम्मेदवारी परेको छ । उपाध्यक्ष उद्योगतर्फ सौगात थापा र ललितबहादुर कुँवर तथा उपाध्यक्ष वाणिज्यतर्फ भीम गौतम र मनोजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
महासचिव पदमा गौतम प्यानलबाट तारानाथ ढुंगाना र आचार्य प्यानलबाट सुदीप प्रधानाङ्गको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा गौतम समूहबाट जीवनप्रकाश श्रेष्ठ र आचार्य समूहबाट देवेन्द्र प्रजु चुनावी मैदानमा छन् ।
उपमहासचिव पदमा गौतम समूहबाट यादवप्रसाद पोखरेल र आचार्य समूहबाट प्रदीप राजभण्डारीले उम्मेदवारी दिएका छन् । रामचन्द्र तिमिल्सिनाले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

१० जना खुला सदस्यका लागि अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारीको उम्मेदवारी परेको छ । १४ जनाले मनोनयनपत्र लगे पनि एकनारायण गौतमको विषयमा प्राविधिक त्रुटि भएपछि १३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् ।
वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकालको उम्मेदवारी परेको छ । औद्योगिक सदस्यमा पिताम्बर अधिकारीको मात्र उम्मेदवारी परेको छ । वस्तुगततर्फ चार र औद्योगिकतर्फ एक जना सदस्य निर्वाचित हुनेछन्।
निर्वाचन संयोजक दामु अधिकारीका अनुसार उम्मेदवारविरुद्ध मंगलबार दिउँसो १ बजेसम्म दाबी–विरोधको समय तोकिएको छ । दाबी–विरोधमाथि छानबिन गरी सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । भदौ ११ गते दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने त्यसपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।
संघको नयाँ कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिव एक–एक जना, खुला सदस्य १०, वस्तुगत सदस्य चार र औद्योगिक सदस्य एक जना निर्वाचित हुने व्यवस्था छ । अध्यक्षबाट चार जना सदस्य मनोनीत हुनेछन् भने हालका अध्यक्ष पदेन सदस्य रहनेछन् ।
संघमा हाल दुई हजार सात सय ३१ जना सदस्य छन् ।




