पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको एमाले संसदीय बोर्ड बैठकले सरकारमा रहेका आफ्ना चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
गण्डकीमा हाल मुख्यमन्त्रीसहित नौ सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो पटक गत २ वैशाखमा मन्त्रिमण्डल हेरफेर गरेका थिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल हो भने एमाले दोस्रो ठूलो दल हो । कांग्रेसका २७ र एमालेका २२ सांसद छन् । नेकपाका सात, राप्रपाका दुई र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का एक सांसद छन् । सभामुख नेकपाबाट निर्वाचित छन् ।
कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारमा एमालेबाट चार जना मन्त्री रहेका छन् । गोविन्दबहादुर नेपालीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भीमबहादुर कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, यशोदा रिमालले उद्योग तथा पर्यटन मन्त्रालय र लक्ष्मणबहादुर पाण्डेले स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका थिए ।
यसैबीच मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ ज्यान मार्ने मुद्दामा दोषी ठहर भएपछि कारागार चलान भएका छन् ।




