newa srijana

पोखरामा भेलको बगरमा परी आमा र दुई वर्षे छोरीको मृत्यु

हर्कचोकमा भारी वर्षापछि सडकको नालीमा उर्लेको पानीले बगाउँदा ढुंगेपाटनकी सुष्मा दाहाल र उनकी छोरी रानीका परे, दुई किलोमिटर तल बिरौटामा उद्धार गरिए तापनि दुवैको उपचारका क्रममा मृत्यु

पोखरा  । पोखराको हर्कचोकमा शुक्रबार साँझ सडकमा उर्लेको भेलले बगाउँदा एकै परिवारकी आमा र छोरीको मृत्यु भएको छ। पोखरा–३०, ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका पोखरा–१७ स्थित जनप्रिय क्याम्पस जाने चोकमा भेलमा परेका थिए। भारी वर्षाका कारण सडकमा जम्मा भएको पानी नालीतर्फ बग्दा दुवैको ज्यान गएको हो।

सुष्माका श्रीमान् कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। वर्षा बढेपछि उनले हर्कचोकमा स्कुटर रोके। स्कुटरबाट ओर्लने क्रममा दुई वर्षीया रानीका सडक किनारको नालीमा उर्लेको भेलमा परिन्।

छोरीलाई बचाउने प्रयासमा सुष्मा पनि भेलमा परिन्। पानीको वेगले आमाछोरी दुवैलाई घटनास्थलबाट करिब दुई किलोमिटर तल बिरौटासम्म बगायो।

सिटीजन फनिच्रर

कमलको हारगुहारपछि स्थानीयबासी र प्रहरी उद्धारमा खटिए। प्रहरी र स्थानीयको संयुक्त टोलीले आमाछोरीलाई बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा निकालेर गण्डकी मेडिकल कलेज पुर्‍यायो।

उपचारका क्रममा सुष्माको शुक्रबार राति मृत्यु भयो। उनकी छोरी रानीकाले पनि शनिबार बिहान दम तोडिन् भनी प्रहरीले जनाएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ। यस दुर्घटनाले पोखराका मुख्य सडक र नालाहरूको जोखिमपूर्ण अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

Pokhara learners