newa srijana

पोखरा-१६ मा मानव बेचबिखन नियन्त्रण समिति गठन

स्थानीयस्तरमा जनचेतना, उद्धार र प्रभावितलाई सहयोग गर्ने जिम्मेवारी

पोखरा । पोखरा महानगरपालिका–१६ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि ११ सदस्यीय वडास्तरीय समिति गठन गरिएको छ। बाल तथा महिला सशक्तीकरण समाज नेपाल, कास्कीको संयोजन र वडा कार्यालयको आयोजनामा भएको भेलाले वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको अध्यक्षतामा समिति गठन गरेको हो।

समितिमा महिला जनप्रतिनिधि राजकुमारी बानियाँ, विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, अर्मला प्राथमिक स्वास्थ्य केन्द्रकी रेनुका पाण्डे, दलित अधिकारकर्मी ओममाया नेपाली, महिला समूहकी तारा भट्टराई, बाल क्लबका कृपन बास्तोला, लामाचौर सीआरभीका विदुर खत्री र मनोनीत सदस्य शोभा आचार्य छन्। वडा सचिव कुलप्रसाद पौडेल सदस्यसचिव रहेको वडाका सहायक प्रशासकीय अधिकृत श्रीराम पौडेलले जानकारी दिए।

आस्था परियोजनाअन्तर्गत गठन भएको समितिले स्थानीयस्तरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, जोखिममा रहेका व्यक्तिको उद्धार गर्ने तथा बेचबिखन प्रभावितका लागि राहत कोष स्थापना र सञ्चालन गर्ने बताइएको छ। कार्यक्रममा वडा सदस्य राजकुमारी बानियाँले मानव बेचबिखन संवेदनशील विषय भएकाले यसको नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनुपर्ने बताइन्। उनले वडाभित्र त्यस्ता घटना देखिएमा समस्या समाधानमा समितिले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिन्।

सिटीजन फनिच्रर

वडा सदस्य रामचन्द्र आचार्यले मानव बेचबिखन तथा ओसारपसारका घटना न्यूनीकरणका लागि विभिन्न संस्थासँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बाल तथा महिला सशक्तीकरण समाज नेपालकी परियोजना प्रमुख इन्दिरा पराजुलीले संस्थाले सञ्चालन गरेका गतिविधिबारे जानकारी दिँदै मानव बेचबिखनविरुद्धको अभियानमा सबै पक्षको प्रयास आवश्यक रहेको बताइन्। उनका अनुसार अभियानअन्तर्गत पोखराका ३३ वटै वडामा स्थानीय समिति गठन गरिएको छ।

कार्यक्रम वडा सदस्य राजकुमारी बानियाँको अध्यक्षतामा भएको थियो भने सञ्चालन वडा कार्यालयका सहायक प्रशासकीय अधिकृत श्रीराम पौडेलले गरेका थिए।

संस्थाले समितिको सिफारिसका आधारमा मानव बेचबिखनबाट प्रभावित व्यक्ति वा परिवारलाई सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममार्फत जीविकोपार्जनमा सहयोग गर्दै आएको जनाएको छ।

Pokhara learners