पोखरा । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार जारी गरेको अपिलमा उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनले प्रभावितको उद्धार तथा राहतमा सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेका छन्।
रसुवामा आएको बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै स्वदेश तथा विदेशबाट धार्मिक तथा अन्य यात्राका लागि रसुवा र नुवाकोट पुगेका नागरिकसमेत प्रभावित भएको अपिलमा उल्लेख छ। धार्मिक यात्राका क्रममा रसुवा पुगेका केही नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको पाण्डेले बताएका छन्।
सम्पर्कविहीन नागरिकको अवस्थाबारे जानकारी लिन तथा खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ। भेटिएका शवको उचित व्यवस्थापनका लागि पनि समन्वय भइरहेको अपिलमा उल्लेख छ।

विपद्बाट प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न प्रदेश सरकारले आफ्नो सामर्थ्यअनुसार सहयोग र समन्वय गर्ने जनाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायत क्षेत्रमा आएको बाढीबाट सिर्जित विपद्लाई साझा चुनौतीका रूपमा लिएर प्रभावित परिवारलाई सहयोग गर्न प्रदेश सरकारले आग्रह गरेको छ।
उद्धार, खोजी तथा राहत कार्यमा सहयोग गर्न गण्डकी प्रदेशभित्रका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई मुख्यमन्त्री पाण्डेले अपिल गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको उद्धार, सम्पर्कविहीनको खोजी र घाइतेको उपचारलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले आवश्यक समन्वय र सहयोग अघि बढाएको छ। विपद्को अवस्थामा अपुष्ट सूचना तथा अफवाह फैलिन नदिन र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सार्वजनिक गर्न पनि सरकारले आग्रह गरेको छ।




