पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औं अधिवेशनका लागि स्वतन्त्र रूपमा कार्यसमिति सदस्य पदमा उठेका ८ जना उम्मेदवारले महेन्द्रपुल, पन्थी गल्ली, पराजुली मार्ग, ट्रेडमल र बुद्ध विशाल बजारलगायतका ठाउँमा घरदैलो कार्यक्रम गरे। कार्यक्रममा व्यवसायीहरूले उम्मेदवारलाई कुनै अध्यक्षीय प्यानलमा नबसी स्वतन्त्र रूपमा उठेकोमा धन्यवाद दिए। उम्मेदवारले व्यावसायिक हकहितको संरक्षण, कर प्रणालीमा सुधार र बजार चलायमान बनाउने प्रतिबद्धतासहित चुनावी प्रचारलाई तीव्र पारेका छन्।

घरदैलोका क्रममा व्यवसायीहरूले वर्तमान आर्थिक मन्दी, चर्को बैंक ब्याजदर र उपभोक्ता अभावका कारण भोग्नुपरेका समस्या उम्मेदवारसामु राखे। निर्वाचनमा व्यावसायिक एजेन्डाभन्दा राजनीतिक प्यानलगत प्रभाव बढी हाबी हुने गरेको व्यवसायीहरूको गुनासो छ। यसैले दलीय आबद्धताभन्दा व्यावसायिक समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व रोज्नुपर्नेमा मतदाताहरूले जोड दिएका छन्।
घरदैलो कार्यक्रममा सदस्यका उम्मेदवार अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारी सहभागी भएका थिए।




