newa srijana

युवा व्यवसायीको आवाज नेतृत्वमा पुर्‍याउँछु : सौगात थापा

उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले युवा उद्यमीका लागि तालिम, परामर्श र बजार विस्तारलाई प्राथमिकता दिने बताए

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनमा उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले युवा व्यवसायीको आवाज संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्‍याउने बताएका छन्। शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका थापाले अग्रजको अनुभवसँग युवाको ऊर्जा जोडेर संघलाई अघि बढाउनुपर्ने बताए।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा बैगचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा संलग्न छन्। उनले संघको कार्यसमिति सदस्यका रूपमा दुई कार्यकाल काम गरेको जानकारी दिए। संघमा काम गर्ने अवसर प्रदान गर्ने निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति र आफूलाई निर्वाचित गराउने उद्योगी व्यवसायीप्रति उनले आभार व्यक्त गरे।

‘आजको युवा रोजगारी खोज्ने मात्र होइन। रोजगारी सिर्जना गर्ने क्षमता राख्छ,’ थापाले भने, ‘युवाको नयाँ सोच, प्रविधि र ऊर्जालाई अग्रजको अनुभवसँग जोडेर संघलाई थप बलियो बनाउन आवश्यक छ।’

निर्वाचित भए युवा उद्यमीका लागि तालिम र व्यावसायिक परामर्शका कार्यक्रम सञ्चालन गर्ने उनले बताए। उनीहरूलाई नेटवर्किङ तथा डिजिटल बजार विस्तारसँग जोड्ने उनको योजना छ। पोखराका व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न निजी क्षेत्र, बैंक, सरकारी निकाय र शैक्षिक संस्थासँग सहकार्य गर्ने उनले बताए।

सिटीजन फनिच्रर

संघलाई पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता पनि उनले जनाए। संघलाई समावेशी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउँदै सदस्यका समस्या समाधानका लागि पहल गर्ने उनको भनाइ छ।

कार्यक्रममा थापाले २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्नो घर तथा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी, तोडफोड र लुटपाटबाट ठूलो क्षति पुगेको प्रसंग पनि सुनाए। उक्त घटनापछि आफू र परिवारलाई सम्हालिन कठिन भएको उनले बताए।

‘त्यो भयानक शोकलाई शक्तिमा बदल्दै म फेरि विस्तारै उठ्दैछु,’ उनले भने, ‘नयाँ जोस, जाँगर र ऊर्जाका साथ संघ र व्यवसायीको सर्वोपरि हितका लागि अघि बढ्ने प्रयास गरेको छु।’

थापाले अग्रजको अनुभव र युवाको ऊर्जालाई एकअर्काका परिपूरकका रूपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए। संघमा आफ्नो उम्मेदवारी पदका लागि मात्र नभई व्यवसायीका समस्या समाधानका लागि भएको उनको भनाइ थियो।

Pokhara learners