पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनमा शोभा गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीको हित र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा प्यानलका उम्मेदवारहरूले युवा उद्यमशीलता, पर्यटन, साना तथा मझौला व्यवसायीका समस्या र संघको आर्थिक पारदर्शिताका विषयमा आफ्ना धारणा राखे। उनीहरूले पोखराको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बलियो बनाउने बताएका छन्।
अध्यक्ष पदकी उम्मेदवार गौतमले संघमा आफूले सम्हालेका जिम्मेवारीलाई सेवाका रूपमा लिएको बताइन्। अब नेतृत्वको जिम्मेवारी पाए उद्योगी–व्यवसायीको हितमा परिणाममुखी काम गर्ने उनको प्रतिबद्धता थियो। ‘आश्वासनभन्दा परिणाम दिने नेतृत्व आवश्यक छ,’ उनले भनिन्।
गौतमले २६ वर्षअघि संघकै अगाडि रहेको सानो चियापसलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको स्मरण गरिन्। व्यवसाय सञ्चालनका क्रममा भोगेका संघर्ष र चुनौती तथा संघमा प्राप्त संस्थागत अनुभवका आधारमा आफू अध्यक्ष पदमा उम्मेदवार बनेको उनले बताइन्। महिला व्यवसायीको प्रतिनिधिका रूपमा समेत आफूलाई प्रस्तुत गर्दै उनले समर्थनका लागि आग्रह गरिन्।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदीले संघको कार्यसमितिमा दुई कार्यकाल काम गरेको अनुभवलाई नेतृत्वमा उपयोग गर्ने बताए। माछापुच्छ्रे ट्रेड लिंक एन्ड सप्लायर्सका सञ्चालकसमेत रहेका उनले पोखरालाई पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा गुणस्तरीय पर्यटक भित्र्याउन संघले भूमिका बढाउनुपर्ने बताए। कृषि र पर्यटनलाई जोडेर अघि बढ्दा आर्थिक विकासको आधार बलियो हुने उनको भनाइ थियो।
उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले युवा व्यवसायीको आवाज संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए। अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा बैगचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा पनि संलग्न छन्। युवालाई व्यवसायमा आकर्षित गर्नुका साथै नेतृत्व र नीति निर्माणमा जोड्नुपर्ने उनको भनाइ थियो। प्रविधि, नयाँ व्यवसाय र बजार विस्तारमा युवाको क्षमतालाई संघले अवसरका रूपमा लिनुपर्ने उनले बताए।

वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले साना तथा मझौला व्यवसायीका समस्या समाधानका लागि सक्रिय हुने बताए। युनिक लेडिज फेसनका सञ्चालक गौतमले घरबेटीका कारण समस्यामा परेका व्यवसायीको आवाज उठाउने प्रतिबद्धता जनाए। वर्तमान कार्यसमितिमा रहेर प्राप्त अनुभवलाई आगामी कार्यकालमा उपयोग गर्ने उनले बताए।
महासचिव पदका उम्मेदवार तारानाथ ढुंगानाले व्यवसायलाई रोजगारी, राजस्व, परिवारको भविष्य र समग्र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए। तारा सुमन सप्लायर्सका सञ्चालक ढुंगानाले व्यवसायीका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने बताए। महासचिवले व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउन प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
कोषाध्यक्ष पदका उम्मेदवार जीवन प्रकाश श्रेष्ठले संघको आर्थिक कारोबार पारदर्शी बनाउने प्रतिबद्धता जनाए। जीवन सोफा कभर एन्ड डेकोरेशन सिस्टमका सञ्चालक श्रेष्ठ यसअघि खुला सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन्। संघको संस्थागत साख कायम राख्दै व्यवसायीका समस्या समाधानमा सक्रिय हुने उनले बताए।
उपमहासचिव पदका उम्मेदवार यादवप्रसाद पोखरेलले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिने बताए। नविन फेन्सी स्टोर्सका सञ्चालक पोखरेलले सीप, प्रविधि, लगानी र बजारलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए। सरकारी निकायसँग समन्वय गरी व्यवसायीका समस्या समाधान गर्ने तथा बैंकबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पहल गर्ने उनको प्रतिबद्धता थियो।
भदौ २० र २१ गते हुने महाधिवेशनमा गौतम नेतृत्वको प्यानलले अनुभव र नयाँ ऊर्जालाई आफ्नो आधारका रूपमा प्रस्तुत गरेको छ। प्यानलका उम्मेदवारहरूले उद्योगी–व्यवसायीको समस्या समाधान, युवा उद्यमशीलता र पोखराको आर्थिक विकासलाई प्राथमिकतामा राख्दै मत मागेका छन्।




