पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं ३ ले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विधवा तथा अल्पसंख्यक नागरिकको परिचयपत्र नवीकरणका लागि घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान सञ्चालन गरेको छ । गाउँका टोलटोलदेखि विभिन्न कारणले पोखरामा बसोबास गर्दै आएका वडावासी ज्येष्ठ नागरिकका घरघरमै पुगेर वडा सचिव सरिता शर्माले सेवा प्रदान गर्दै आएकी छन् ।
अभियान अन्तर्गत ज्येष्ठ नागरिकको परिचयपत्र नवीकरण, आवश्यक कागजात संकलन तथा विवरण अद्यावधिक गर्ने कामसँगै घरजग्गाको तिरो तथा विभिन्न राजस्वसम्बन्धी सेवा समेत घरदैलोमै उपलब्ध गरेकाे छ ।

उमेर ढल्किँदै जाँदा सरकारी कार्यालयसम्म पुग्न कठिन हुने, यातायातको समस्या झेल्नुपर्ने तथा लामो समय लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले घरदैलोमै सेवा पुर्याएको हो । यसबाट विशेषगरी ज्येष्ठ नागरिक तथा कार्यालय सम्म आउन कठिन हुने नागरिकलाई सहजता भएको छ ।
ज्येष्ठ नागरिकहरू सेवा लिन कार्यालयसम्म आउन कठिन अवस्थामा हुने भएकोले उहाँहरूलाई कार्यालयमा बोलाउनुभन्दा हामी नै उहाँहरूको घरदैलोमा पुग्नुपर्छ भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरेकाे वडा सचिव शर्माले बताइन् ।
वडा सचिव शर्माका अनुसार अभियानका क्रममा ज्येष्ठ नागरिक परिचयपत्र नवीकरणसँगै नागरिकको आवश्यकता अनुसार घरजग्गाको तिरो तथा विभिन्न राजस्व सम्बन्धी काममा समेत सहजीकरण गरिएको छ । यसले कार्यालय सम्म पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै नागरिकको समय र खर्चसमेत बचत भएको छ ।


गाउँका टोलटोलदेखि पोखरामा बसोबास गर्ने अन्नपूर्ण–३ का वडावासीसम्म पुगेर सेवा दिँदा ज्येष्ठ नागरिक तथा स्थानीय नागरिकहरू खुसी भएका छन् । घरदैलोमै सरकारी सेवा पाएपछि लामो यात्रा गर्नुपर्ने, यातायात खर्च बेहोर्नु पर्ने र कार्यालयमा पुगेर लामो समय कुर्नुपर्ने अवस्थाबाट राहत मिलेको जेष्ठ नागरीक हरीलाल पौडेलको बताए ।
वडा अध्यक्ष फडिन्द्रप्रसाद पौडेलले वडा सचिव शर्माको सेवाभाव र सक्रियताको प्रशंसा गरेका छन् । उनले ज्येष्ठ नागरिक समाजका सम्मानित अभिभावक भएकाले उनीहरूलाई सहज र सम्मानजनक ढंगले सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए ।
वडा सदस्य कृष्णप्रसाद पौडेलले पनि वडा कार्यालयबाट प्रदान हुने सेवाहरूलाई नागरिकमैत्री र सहज बनाउने प्रयास भइरहेको र ज्येष्ठ नागरिक, अशक्त तथा कार्यालयसम्म पुग्न कठिन हुने नागरिकलाई लक्षित गरी घरदैलोमै सेवा पुर्याउने कार्यलाई निरन्तरता दिइने बताए । पौडेलका अनुसार स्थानीय सरकारको सेवा जनताको घरदैलोमै पुग्न सके मात्र नागरिकले सरकारको अनुभूति गर्न सक्ने भएकाले वडा कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने नीति लिएको छ ।
ज्येष्ठ नागरिक परिचयपत्र नवीकरणदेखि घरजग्गाको तिरो तथा विभिन्न राजस्व सम्बन्धी सेवासम्म घरदैलोमै उपलब्ध गराउने वडा कार्यालयको पहलले सरकारी सेवा लिन जनता कार्यालय धाउनुपर्छ भन्ने परम्परागत सोचलाई परिवर्तन गर्दै सरकार नै जनताको घरदैलोमा पुग्नुपर्छ भन्ने सन्देश दिएको छ ।

वडा सचिव शर्मा, वडा अध्यक्ष पौडेल तथा जनप्रतिनिधिको सक्रियतामा सञ्चालन भइरहेको यस अभियानबाट स्थानीय नागरिकले सहज, छिटो र सम्मानजनक सेवा प्राप्त गरिरहेका छन् । वडामा करिब ६ सय जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विधवा तथा अल्पसंख्यक नागरिक रहेकोमा हाल करिब १ सय जनाको मात्र परिचयपत्र नवीकरण गर्न बाँकी रहेकोमा बाँकी रहेका सेवाग्राहीलाई समेत सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले अभियानलाई तीव्रता दिएको हो ।




