पोखरा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दुई दिनमा नेपालभर ४५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। शुक्रबार र शनिबारको व्यापारबाट उक्त रकम संकलन भएको निर्देशक गुरुङले बताए।
पोखराका क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै दुई दिनमा १५ लाख २७ हजार रुपैयाँ ग्रस कलेक्सन भएको छ। यी दुई हलमा ४ हजार ७ जना दर्शकले चलचित्र हेरेका छन्।

पोखरामा पहिलो दिनदेखि नै चलचित्रले राम्रो दर्शक पाएको निर्माण पक्षले जनाएको छ। शनिबार पनि अधिकांश शोमा दर्शकको उपस्थिति उत्साहजनक रहेको थियो। आइतबार दुवै हलमा पाँच–पाँच शो राखिएकोमा सबै शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ।
पोखरासँगै काठमाडौंलगायत देशका विभिन्न सहरमा पनि चलचित्रले राम्रो दर्शक पाइरहेको निर्माण पक्षको दाबी छ। पहिलो दुई दिनको व्यापार र दर्शक प्रतिक्रियाले चलचित्रको सुरुवात उत्साहजनक देखिएको निर्देशक गुरुङले बताए।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, सुरज तमु, माया गुरुङ र विश्वास गुरुङलगायत कलाकारको अभिनय छ। चलचित्रमा लाहुरे जीवन, पेन्सनपछिको अवस्था, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई कथाको आधार बनाइएको छ।




