newa srijana

कास्की आइडल सिजन–२ का लागि गायन र नृत्यतर्फ २४–२४ प्रतिभा छनोट

असोज ३, १० र १७ गते एलिमिनेसन राउन्ड, कात्तिक १४ गते ग्रान्ड फिनाले

पोखरा । कास्की आइडल सिजन–२ का लागि गायन र नृत्यतर्फ २४–२४ जना प्रतियोगी छनोट भएका छन्। साँझ क्रियसन्स प्रा.लि.को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन वरिष्ठ कलाकार कर्णदासको प्रमुख आतिथ्यतामा पोखरामा भएको हो।

प्रतियोगितामा गायनतर्फ २४ र नृत्यतर्फ २४ गरी ४८ जना सहभागी छन्। उनीहरूबीच विभिन्न चरणमा प्रतिस्पर्धा हुनेछ।

कार्यक्रम संयोजक आदर्श पोखरेलले कास्कीमा रहेका नयाँ गायन तथा नृत्य प्रतिभाको खोजी, पहिचान र उनीहरूलाई कला प्रस्तुत गर्ने अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताए। प्रतिभालाई प्रोत्साहन गर्दै आगामी दिनमा समेत अवसर सिर्जना गर्ने उद्देश्य रहेको उनले बताए।

सिटीजन फनिच्रर

प्रतियोगिताको एलिमिनेसन राउन्ड असोज ३, १० र १७ गते हुनेछ। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रतियोगी कात्तिक १४ गते हुने ग्रान्ड फिनालेमा पुग्नेछन्।

गायन र नृत्य दुवै विधाका विजेताले ६० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट १० मा पर्न सफल प्रतियोगीलाई राष्ट्रिय गीतमा अवसर दिने आयोजकले जनाएको छ।

प्रतियोगिताको मूल्यांकनमा निर्णायकको ४० प्रतिशत, भोटिङको ४० प्रतिशत र दर्शकको २० प्रतिशत अंकभार रहनेछ। आयोजकले भोटिङभन्दा प्रतिभाका आधारमा प्रतियोगी छनोट गर्ने वातावरण बनाउने जनाएको छ।

उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार कर्णदास, गीतकार तथा प्राज्ञ अनुराग अधिकारी, प्राध्यापक डा. बाबुराम अधिकारी, गीतकार प्रतिष्ठान नेपालका सचिव रूपिन्द्र प्रभाती जोशी, गीतकार तथा सामाजिक व्यक्तित्व जमुना पौडेल, पोखरा विश्वविद्यालयकी प्राध्यापक दीपमाला श्रेष्ठलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सुस्मिता बास्तोला र साँझ क्रियसन्सका अध्यक्ष झलककुमार गुरुङले गरेका थिए।

Pokhara learners