newa srijana

भू-उपयोग वर्गीकरणपछि पोखरामा कित्ताकाट खुल्यो

लामो समयदेखि रोकिएको अंशबन्डा, किनबेच र धितोलगायतका काम सहज हुने

पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रको भू-उपयोग वर्गीकरणको काम पूरा गरेपछि जग्गाको कित्ताकाट खुलाएको छ। महानगरका ३३ वटा वडाका करिब ७ लाख कित्ता जग्गाको कित्ताकाट गर्न सकिने भएको हो।

भू-उपयोग वर्गीकरणको काम पूरा भएपछि महानगरले कित्ताकाटका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पत्र पठाएको छ। महानगरपालिका, भूमि प्रशासन र नापी कार्यालयबीचको समन्वय तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी वर्गीकरणको काम सम्पन्न गरिएको हो।

भू-उपयोग ऐन २०७६ तथा नियमावली २०७९ (संशोधनसहित) को व्यवस्थाअनुसार वडा नं. ११ तथा १३ देखि ३३ सम्मको अन्तिम भू-उपयोग वर्गीकरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ। अन्य वडाको वर्गीकरण यसअघि नै सम्पन्न भएको थियो।

सिटीजन फनिच्रर

सरकारले कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण नगरी कित्ताकाट गर्न रोक लगाएपछि पोखरामा लामो समयदेखि जग्गाको कित्ताकाट रोकिएको थियो। यसका कारण अंशबन्डा, जग्गा किनबेच, बैंक धितो राख्नेलगायतका काम प्रभावित हुँदै आएका थिए।

कित्ताकाट खुलेसँगै प्रचलित कानुन र तोकिएको मापदण्ड पूरा गरेका सेवाग्राहीले अंशबन्डा, किनबेच, धितोलगायत जग्गासम्बन्धी प्रशासनिक काम अघि बढाउन सक्नेछन्।

भू-उपयोग वर्गीकरण विवरणका आधारमा सम्बन्धित कार्यालयबाट जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी काम अघि बढ्नेछ। कित्ताकाट खुलेपछि घरजग्गा कारोबार चलायमान हुने र राजस्वमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

Pokhara learners