पोखरा । रसुवाको बाढीपहिरोबाट प्रभावितहरूको राहत र पुनःस्थापनाका लागि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७६ हजार ३ सय १९ रुपैयाँ सहयोग गरेको छ।
नाट्टा गण्डकीका तर्फबाट उक्त रकमको भौचर जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङलाई हस्तान्तरण गरिएको हो।



द्वितीय उपाध्यक्ष विश्वराज आचार्यको संयोजनमा अध्यक्ष संगीता पौडेल, पूर्वअध्यक्ष तथा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा टोली बुधबार जिल्ला प्रशासन कार्यालय पुगी सहयोग रकमको भौचर हस्तान्तरण गरेको थियो।
विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका राष्ट्रिय प्रयासमा सहयोग र सहकार्य निरन्तर दिने बताइन्। आवश्यकताअनुसार जिन्सी सामान तथा लत्ताकपडालगायतका भौतिक सामग्री समेत प्रभावितलाई पुर्याउने तयारी रहेको उनले बताइन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम रसुवा बाढीपहिरो प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ। नाट्टा गण्डकीमा हाल करिब १ सय ६३ सदस्य आबद्ध छन् र पर्यटन क्षेत्रमा कार्यरत ट्राभल तथा टुर व्यवसायीहरूको संस्था हो।




