newa srijana

सिक्लेसमा गुरुङ समुदायको इतिहासमा आधारित चलचित्र ‘बुकी फूल’को शुभमुहूर्त

ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायांकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने

पाेखरा। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित चलचित्र ‘बुकी फूल’को शुभमुहूर्त गरिएको छ। गण्डकी प्रदेशका सांसद एवं चलचित्र निर्माता बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा चलचित्र निर्माण हुन लागेको हो।

सिक्लेसभन्दा केही माथिल्लो क्षेत्रमा भदौमा फुल्ने बुकी फूलबाट चलचित्रको नाम राखिएको हो। गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको चलचित्रको छायांकन सिक्लेस र आसपासका क्षेत्रमा गरिनेछ।

चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री संस्कृति गुरुङ, कलाकार पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ र बेदबहादुर गुरुङ ‘श्याम’लगायतको अभिनय रहनेछ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

शुभमुहूर्त कार्यक्रममा ‘बुकी फूल’ ऐतिहासिक चलचित्र बन्न सक्ने निर्देशक नवीन सुब्बाले बताए। गुरुङ समुदायभित्रको ऐतिहासिक दस्तावेजका रूपमा चलचित्र स्थापित हुन सक्ने उनले बताए। कथाअनुसार मेकिङमा ध्यान दिन सके चलचित्र अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने उनले बताए।

‘बुकी फूल’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको चलचित्रका परिकल्पनाकार एवं निर्माता बेदबहादुर गुरुङ ‘श्याम’ले बताए। आफ्ना बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए। ‘बुकी फूल’को कथा आफ्नै परिकल्पनामा तयार भएको बताउँदै उनले गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई चलचित्रमा समेट्ने प्रयास गरिएको बताए।

कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राख्दै चलचित्र निर्माण गरिने निर्देशक ओमप्रकाश गुरुङले बताए। चलचित्रको छायांकन सुसन प्रजापतिले गर्नेछन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्। चलचित्रको छायांकन ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।

Rabin photo