पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ४ लाख रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले नेसनल प्याब्सन कास्कीमार्फत २ लाख, नेसनल प्याब्सन केन्द्रीय समितिमार्फत १ लाख र हिसान कास्कीमार्फत १ लाख रुपैयाँ गरी ४ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरेको हो।
विद्यालयका संस्थापक प्राचार्य एवं नेसनल प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष रामबहादुर मोचीले नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्की अध्यक्ष मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, उपाध्यक्ष राजु केसी, कोषाध्यक्ष राजु कायस्थ तथा हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीलाई चेक हस्तान्तरण गरेका थिए।

शिक्षा क्षेत्र पठनपाठनमा मात्र सीमित नभई सामाजिक सेवासँग पनि जोडिनुपर्ने कास्की मोर्डनाइज्ड एकेडेमीका संस्थापक प्राचार्य रामबहादुर मोचीले बताए। विपद्का कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको उनले बताए।
विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाबीच सहकार्य गरेर सामाजिक क्षेत्रमा योगदान गर्न सकिने उनले बताए। संकटको समयमा तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग आवश्यक रहेको उनले बताए।

निजी शिक्षण संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मानवीय सेवाका क्षेत्रमा योगदान गर्दै आएको नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले बताए। विपद्का समयमा राज्यसँगै संघसंस्था, विद्यालय र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने उनले बताए।
पीडितको दुःखमा साथ दिन गरिएको सहयोगले राहतसँगै सामाजिक एकता र सहकार्यको भावना बलियो बनाउने उनले बताए।
शैक्षिक संस्थाले विद्यार्थीलाई किताबी ज्ञानसँगै मानवीय संवेदना, सामाजिक जिम्मेवारी र सहयोगको संस्कार सिकाउनुपर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले बताए। सहयोगका लागि कास्की मोर्डनाइज्ड एकेडेमीलाई धन्यवाद दिँदै उनले सामाजिक उत्तरदायित्वमा शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताए।
विद्यालयले यसअघि पनि बाढी प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री पठाएको कास्की मोर्डनाइज्ड एकेडेमीका भाइस प्रिन्सिपल शिवलाल उपाध्यायले बताए। विद्यालयको तर्फबाट क्षतिग्रस्त क्षेत्रमा पुगेर १ लाख रुपैयाँभन्दा बढी मूल्यका पुस्तक तथा कापी र १ सय २० जना विद्यार्थी बस्न मिल्ने डेक्स–बेन्च उपलब्ध गराउने तयारी रहेको उनले बताए।
विपद् तथा संकटका समयमा निजी तथा आवासीय विद्यालय र अन्य शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको साथमा उभिनुपर्ने उनले बताए।




