पोखरा । माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रले पोखराबाट मात्रै ५१ लाख ४८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
चलचित्रले दोस्रो सातामा समेत दर्शकको साथ पाइरहेको छ। माउथ पब्लिसिटीका कारण दर्शकको उपस्थिति बढ्दै गएको निर्देशक गुरुङले बताए। दोस्रो साताको पहिलो शुक्रबार पोखरालगायत विभिन्न ठाउँका हलमा हाउसफुल शो भएको उनले बताए।
पोखरा ट्रेडमलस्थित क्यूएफएक्स सिनेमाजमा पहिलो सातामा १० हजार ६ सय ७० जनाले चलचित्र हेरेका छन्। उक्त हलबाट बिहीबारसम्म ३३ लाख १८ हजार रुपैयाँ ग्रस कलेक्सन भएको क्यूएफएक्स पोखराका म्यानेजर पशुपति कार्कीले बताए।
पोखराको मिडटाउन सिनेमाजमा पहिलो सातामा ६ हजार ३ सय ७० दर्शकले चलचित्र हेरेका छन्। मिडटाउनबाट १८ लाख ३० हजार रुपैयाँ ग्रस कलेक्सन भएको म्यानेजर संकेत द्वाले बताए।
क्यूएफएक्स र मिडटाउनको कलेक्सन जोड्दा ५१ लाख ४८ हजार रुपैयाँ पुगेको छ। श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सन प्राप्त हुन बाँकी रहेकाले पोखराबाट चलचित्रले ५५ देखि ६० लाख रुपैयाँसम्म ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ।

सामाजिक सञ्जालमा चलचित्रका दृश्य, दर्शक प्रतिक्रिया तथा प्रचार सामग्रीको चर्चा बढेको निर्माण पक्षले जनाएको छ। टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा भइरहेका गतिविधिले दर्शकलाई हलसम्म आकर्षित गर्न सहयोग पुगेको निर्माण पक्षको बुझाइ छ।
चलचित्र हेरेका दर्शकबाट प्राप्त प्रतिक्रियाका कारण माउथ पब्लिसिटी बढ्दै गएको छ। परिवार, समाज, प्रेम, त्याग र जीवनसँग जोडिएका विषयवस्तु चलचित्रमा प्रस्तुत गरिएको छ।
शुक्रबारदेखि ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’ पनि प्रदर्शनमा आएका छन्। नयाँ चलचित्र प्रदर्शनमा आए पनि पोखराका हलमा ‘पेन्सन पट्टा’को दर्शक उपस्थिति कायम रहेको निर्देशक गुरुङले बताए।
मिडटाउन सिनेमाज र क्यूएफएक्समा शुक्रबार नयाँ चलचित्रको तुलनामा ‘पेन्सन पट्टा’का शोमा दर्शकको उपस्थिति राम्रो भएपछि शनिबारदेखि ‘झिङ्गे दाउ २’ र ‘कार्की साइला’का शो घटाइएको जनाइएको छ। ती हलमा ‘पेन्सन पट्टा’ले अधिकांश शो पाएको छ।
पोखराबाहेक बुटवल, चितवन, झापा, इटहरी, लमजुङ र तनहुँको दमौलीलगायतका सहरमा पनि चलचित्रले राम्रो दर्शक पाएको निर्देशक गुरुङले बताए।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, पशुपति राई र बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ।




