newa srijana

तेस्रो पर्वतीय दौडका लागि अनलाइन दर्ता खुला

असोज २४ गते पुम्दी–भुम्दीका तीन धार्मिक तथा पर्यटकीय गन्तव्य समेटेर प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा असोज २४ गते आयोजना हुने तेस्रो पर्वतीय दौड प्रतियोगिताका लागि अनलाइन दर्ता खुला गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले पोखरा क्लिक डटकममार्फत फाराम भर्न सक्ने प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए।

अनलाइन दर्ताका लागि यहाँ क्लिक गर्नुहोस् 👇

प्रतियोगितामा विदेशी धावकसहित बढीमा ३ सय जनालाई सहभागी गराइने उनले बताए। ग्रामीण परिवेशमा रहेको पुम्दी–भुम्दी क्षेत्रका तीन धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेटेर प्रतियोगिता आयोजना गरिने भएकाले व्यवस्थापन सहज बनाउन सहभागी संख्या सीमित गरिएको बरालले बताए।

सिटीजन फनिच्रर

अन्य दौड प्रतियोगिताभन्दा पुम्दी–भुम्दी पर्वतीय दौड फरक रहेको उनले बताए। विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने प्रतियोगिताको तयारी यसअघि भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण केही समय रोकिएको थियो। सोही कारण प्रतियोगिताको मिति दुई साता पछि सारेर असोज २४ गते आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

पुम्दी–भुम्दी क्षेत्रको खेल तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स हस्पिटालिटी पार्टनर, नेलम्बो नेपाल मेडिकल पार्टनर र पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा जोडिएका छन्।

प्रतियोगिता सफल बनाउन पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमतिमा पोखरा महानगरपालिका–२२ को समन्वयमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा खुलासहित ६ वटा विधामा प्रतिस्पर्धा हुनेछ।

Rabin photo