पोखरा । तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन्। सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए।
खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा शनिबार विश्वशान्ति स्तूपदेखि बुद्धपार्कसम्म ८ किलोमिटर दूरीको दौड भएको थियो। रावतले दौड ३४ मिनेट, ३५ सेकेण्ड र ८८ मिलीसेकेण्डमा पूरा गर्दै खुलातर्फको उपाधि जितेका हुन्। उनले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाए।
गौतम श्रेष्ठ दोस्रो र नीरज भट्ट क्षेत्री तेस्रो भए। श्रेष्ठले निर्धारित दूरी पार गर्न ३५:१६:१९ मिनेट र क्षेत्रीले ३५:२९:०१ मिनेट लगाए। उनीहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ पाए। धिरबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौं भए। छैटौंदेखि दशौंसम्म क्रमशः महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवर भए।


महिलातर्फ दीर्पा बस्नेत ४८:१३:४६ मिनेटमा दौड पूरा गरी प्रथम भइन्। द्रोपता कठायत दोस्रो र मीमु बुढा तेस्रो भए। यू–१६ तर्फ कमल विक, मुलुकसिंह खत्री र सक्षम बोहोरा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए। पोखरा–२२ को वडास्तरीयतर्फ कृशल परियार, सुयन विक र कमल पौडेल क्रमशः प्रथम, दोस्रो र तेस्रो भए। भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम हुँदा किशोर थापा दोस्रो र कमल गुरुङ तेस्रो भए। विदेशी धावकमा म्याथियस डियोन प्रथम, अलेक्जेण्डर दोस्रो र माइकाइलो तेस्रो भए।
खुलाबाहेक अन्य विधामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५, ७ र ३ हजार रुपैयाँ दिइयो। खुलातर्फ चौथो र पाँचौंले क्रमशः ७ र ३ हजार रुपैयाँ पाए भने छैटौंदेखि दशौंसम्मलाई १ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो।
समापन समारोहका प्रमुख अतिथि पोखराका मेयर धनराज आचार्य, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, वरिष्ठ समाजसेवी चन्द्रकान्त बराल, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, हरि भुजेल, संगीता पौडेल र प्रतियोगिता संयोजक दीननाथ बरालले विजेतालाई पुरस्कार प्रदान गरे। सोही अवसरमा पुम्दी–भुम्दीको पर्यटन प्रवर्द्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरियो।

विश्वशान्ति स्तूपमा आयोजित उद्घाटन समारोहमा गण्डकी प्रदेशका खेलकुद मन्त्री रेखा गुरुङले दौडको उद्घाटन गरेकी थिइन्। उत्तरमा मनोरम हिमाल र फेवातालसहित पोखराको सुन्दर दृश्य हेर्दै दौडिँदा धावकहरू रोमाञ्चित थिए।




