newa srijana

ग्रासरुट खेलाडी उत्पादनमा पोखरा महानगरको जोड

खेलकुद विकास समितिले आर्थिक वर्ष २०८३/०८४ का कार्यक्रम मंसिरदेखि कार्यतालिकासहित लागू गर्ने, प्रतियोगिता र प्रशिक्षणलाई प्राथमिकता

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले यस वर्ष ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राखेर खेलकुदका गतिविधि सञ्चालन गर्ने भएको छ। समितिले आर्थिक वर्ष २०८३/०८४ का लागि तय गरिएका कार्यक्रमलाई कार्यतालिका बनाएर मंसिरदेखि कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

बिहीबार पोखरा रङ्गशालामा बसेको समितिको बैठकले ग्रासरुट खेलकुदको विकास, प्रतियोगिता सञ्चालन तथा प्रशिक्षणलाई प्राथमिकतामा राख्दै निर्धारित कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए।

बैठकमा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले खेलकुदका गतिविधिलाई समुदायस्तरसम्म विस्तार गर्न सके खेलप्रति सकारात्मक भावना विकास हुने बताए। खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउनुका साथै सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो। समितिका गतिविधि शिक्षा महाशाखाअन्तर्गत पर्ने भएकाले तिनलाई प्राथमिकताका साथ प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए। कार्ययोजना तयार गरी मंसिरदेखि नै कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै उनले अनुशासनमा रहेर काम गर्नुपर्नेमा जोड दिए।

महानगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले खेलकुदका कार्यक्रम सञ्चालन गर्दा नियम, अनुशासन र सहकार्यमा विशेष ध्यान दिनुपर्ने बताए। सबै पक्ष मिलेर सकारात्मक सोचका साथ अघि बढे निर्धारित लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।

सिटीजन फनिच्रर

त्यस्तै, शिक्षा अधिकृत सोमनाथ भण्डारीले समितिको स्थापनादेखि हालसम्म भएका गतिविधिबारे चर्चा गर्दै महानगरपालिकाको खेलकुद क्षेत्रमा सकारात्मक नतिजा हासिल गर्न समितिको भूमिका महत्त्वपूर्ण रहेको बताए। खेल क्षेत्रको दीर्घकालीन विकासका लागि ग्रासरुट तहलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

समितिका अध्यक्ष दीपकबहादुर गोदारले प्रतियोगिता र प्रशिक्षणलाई प्राथमिकता दिँदै यस वर्षका गतिविधि अघि बढाइने बताए। समितिको मुख्य प्राथमिकता ग्रासरुट खेलकुद भएकाले बालबालिका तथा नयाँ खेलाडीलाई खेलकुदसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो। खेलकुद क्षेत्रमा गरिएको लगानीले महानगरपालिकामा आम्दानीका अवसरसमेत सिर्जना गर्न सक्ने उल्लेख गर्दै उनले बजेट पर्याप्त नभए पनि उपलब्ध सीमित स्रोतसाधनको अधिकतम उपयोग गरी देखिने परिणाम हासिल गर्ने गरी काम गरिने बताए।

समितिका खेल प्राविधिक प्रमुख राजन पौडेल र उपप्रमुख सिद्धान्त अधिकारीले ग्रासरुट खेलकुदको विकासबिना समग्र खेल क्षेत्रको विकास सम्भव नहुने धारणा राखे। खेल गतिविधि सञ्चालनलाई थप सहज र प्रभावकारी बनाउन केही कार्यविधिमा सुधार तथा सहजीकरण आवश्यक रहेको उनीहरूले औँल्याए।

समितिले ग्रासरुट तहमा खेलकुदको पहुँच विस्तार गर्दै नयाँ प्रतिभा पहिचान र खेलाडी उत्पादनलाई प्राथमिकता दिएर काम गर्ने जनाएको छ। बैठकमा समितिले हालै शिक्षा महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका आचार्यलाई स्वागत पनि गरेको थियो।

रुपा गाउँ पालिका