newa srijana

पोखरा रात्रिकालीन सडक दौड पुस दोस्रो साता हुने 

पाँच किलोमिटर दूरीको दौडमा पाँच विधामा प्रतिस्पर्धा हुने

पोखरा । पोखराको पर्यटन प्रवद्र्धनसँगै खेलकुद संस्कृतिको विकास र रात्रिकालीन पर्यटनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नं. ९ ले विशेष सहयोगसहित सहकार्य गर्ने भएको छ ।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने मूल नाराका साथ आगामी पुस १० गते शुक्रबार आयोजना हुने प्रतियोगितालाई सफल बनाउन वडा नं. ९ ले आर्थिक, भौतिक तथा आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। प्रतियोगिताका लागि वडाले चालु आर्थिक वर्षको रातो किताबमा पाँच लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको वडा अध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिनुभयो ।

वडा सचिव मीना भुजेलले समग्र पोखराको खेल पर्यटनमा नयाँ कार्यक्रम भएकोले उक्त कार्यक्रमलाई सबैले साथ र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो संस्करणदेखि नै प्रतियोगितासँग सहकार्य गर्दै आएको वडा नं.९ ले यसपटक प्रतियोगितालाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन विशेष प्राथमिकताका साथ सहयोग गर्न लागेको हो।

यसैक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पोखरा महानगरपालिका वडा नं ९ र आयोजक संस्था पोखरा प्रवद्र्धन केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।

वडा अध्यक्ष मर्सानीले ‘म बनाउँछु मेरो वडा’ भन्ने अवधारणाअनुरूप वडाको पहिचान, पर्यटन प्रवद्र्धन र सामाजिक गतिविधिलाई जोड दिँदै यस्ता सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गत वर्षदेखि सुरु भएको सहयोग सहितको सहकार्य यस वर्ष थप व्यवस्थित र भव्य बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रतियोगिताका लागि आवश्यक आर्थिक, भौतिक लगायतका सहयोग गर्न वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सिटीजन फनिच्रर ..

प्रतियोगिताका संयोजक दिननाथ बरालले वडा नं. ९ ले सुरुदेखि नै देखाएको साथ र यस वर्ष प्रदान गरेको विशेष सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार गत वर्ष सानो इभेन्टका रूपमा सुरु गरिएको प्रतियोगितालाई यस वर्ष विधा विस्तार, पुरस्कार राशिमा वृद्धि तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै बृहत् रूपमा आयोजना गर्न लागिएको हो । वडाको विशेष सहयोगले प्रतियोगितालाई थप उत्साहका साथ सम्पन्न गर्न ऊर्जा मिलेको उहाँले बताउनुभयो ।

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको सुंयुक्त आयोजनामा हुने प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद र पर्यटनलाई एकसाथ जोड्दै पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप चिनाउनु हो । रातको समयमा पनि पोखराका सडक सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुका साथै रात्रिकालीन पर्यटनको सम्भावनालाई उजागर गर्ने लक्ष्य प्रतियोगिताले लिएको छ।

पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड सेन्टरप्वाइट, हल्लनचोक, जरेवर, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक र न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पोखरा महानगरपालिका वडा नं। ९ स्थित अन्तर्राष्ट्रिय झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला, महिला, विद्यार्थी (यू–१६), विदेशी र भेट्रान्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। पहिलो संस्करणमा नर्वे, थाइल्यान्ड, फ्रान्स, इङ्गल्यान्ड लगायत पाँच देशका १४५ जना धावक सहभागी भएका थिए। यस वर्ष सहभागी संख्या र प्रतियोगिताको आकर्षण थप बढ्ने आयोजकको अपेक्षा छ।

प्रतियोगितामा विभिन्न विधाका विजेतालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दौड पूरा गर्ने सबै धावकलाई डिजिटल प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ। यस वर्ष भेट्रान्स विधा थप गरिएको र पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न करिब १७ लाख ९० हजार रुपैयाँ खर्च अनुमान गरिएको केन्द्रका सचिव सागर सुनारले बताउनु भयो । यसका लागि विभिन्न सरकारी निकाय, संघसंस्था, निजी क्षेत्र तथा पर्यटन व्यवसायीसँग सहकार्य र सहयोगको अपेक्षा गरिएको उहाँले जनाउनु भयो ।

पोखराको प्राकृतिक सुन्दरता, साहसिक पर्यटन र सांस्कृतिक पहिचानसँगै खेलकुदलाई पनि पर्यटनको महत्वपूर्ण आधार बनाउने अभियानका रूपमा प्रतियोगितालाई अघि बढाइएको हो । यस्ता कार्यक्रमले धावक तथा खेलप्रेमीलाई पोखरासम्म आकर्षित गर्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास आयोजकको छ ।

पोखरालाई दिनमा मात्र होइन, रातमा पनि जीवन्त, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको दोस्रो पोखरा रात्रिकालीन सडक दौडले पोखराको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

Byd