पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान र थप हवाई रुटको व्यवस्था गर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसका लागि पहल गर्न संघले आग्रह गरेको हो।
संघले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको हो। हवाई रुट प्राप्तिसँगै भारतीय सहरमा सिधा उडान सञ्चालन र त्यहाँबाट पोखरामा पर्यटक भित्र्याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत भारतीय निजी क्षेत्रसँग पैरवी गर्ने प्रतिबद्धतासमेत संघले जनाएको छ।
संघकी अध्यक्ष शोभा गौतमको नेतृत्वमा वाणिज्य उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, महासचिव सुदीप प्रधानाङ्ग र कोषाध्यक्ष देवेन्सन प्रजूसहितको प्रतिनिधिमण्डलले ध्यानाकर्षणपत्र पठाएको हो। पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनका लागि संघले गरेको लामो समयदेखिको आन्दोलन र पैरवीसमेत स्मरण गराइएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको आर्थिक हित, द्विपक्षीय व्यापार, ऊर्जा, पारवहन र थप हवाई रुटका विषयमा सहमति हुने अपेक्षा संघले गरेको छ। भ्रमणको कार्यसूचीमा पोखरा–भैरहवा द्रुतमार्ग निर्माण र पोखरा विमानस्थलबाट भारतीय सहरमा सिधा उडानका विषय समेटिएकोमा संघले खुसी व्यक्त गरेको छ।
ध्यानाकर्षणपत्रमा छोटो र इन्धन कम खपत हुने हवाई मार्ग उपलब्ध नहुँदा पोखराबाट भारतको वाराणसी र दिल्ली लगायतका सहरमा सिधा उडान हुन नसकेको उल्लेख छ। भारत भ्रमणका क्रममा यी समस्या समाधानका लागि पहल गर्न संघले प्रधानमन्त्रीसँग आग्रह गरेको छ।
पोखराबाट भारतीय सहरमा सिधा उडानका लागि आवश्यक अनुमति र हवाई रुट प्राप्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलमार्फत पहल भइरहेको जानकारी आफूहरूले पाएको पनि संघले जनाएको छ।
सिधा उडान सञ्चालन भए भारतीय सहरबाट पोखरामा पर्यटक भित्र्याउन पर्यटन प्रवर्द्धनको नेतृत्व लिने प्रतिबद्धता संघले व्यक्त गरेको छ।




