पोखरा । पोखरा–२८ माझठानाको ओख्लेभीरमा भएको बस दुर्घटनापछि कालिका विद्यालयले नयाँ स्कुल बस सञ्चालनमा ल्याएको छ। करिब डेढ महिनाअघि भएको उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो।
दुर्घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनले बसमा भएको यान्त्रिक समस्यालाई दुर्घटनाको कारण औंल्याएको थियो।

विद्यालयहरूले विद्यार्थी आकर्षित गर्ने सुविधाका रूपमा स्कुल बस सञ्चालन गर्दै आएका छन्। तर साँघुरा र अप्ठ्यारा सडकमा ठूला बस सञ्चालन गर्दा दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ।
ओख्लेभीर दुर्घटनाले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, सडकको क्षमता, चालकको जिम्मेवारी र विद्यार्थी सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको देखाएको छ।




