काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि मंसिर महिनासम्म सो बराबरको रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहको तुलनामा ४.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको वृद्धिदर भने २४.२ प्रतिशत रहेको थियो ।
यसमध्ये अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भइ ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ । यो संख्या अघिल्लो वर्ष मंसिरमा क्रमशः १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ थियो ।
यस अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड थियो ।