पोखरा । पोखरा महानगरपालिका–१७ स्थित पर्यटकीय गन्तव्य पाताले छाँगो (डेभिड फल्स) मा महानगरपालिकाले सिलबन्दी गरेको छ ।
छाँगो सञ्चालन गर्ने गरी महानगरको टोलीले मंगलबार प्रवेश द्वारमा सिलबन्दी गरेको छ । वडा सदस्य विष्णु केसी, वडा प्रहरी कार्यालय बैदामा प्रहरी निरीक्षक कमलकुमार पोखरेल र नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाको रोहबरमा सिलबन्दी गरिएको हो ।
विगतमा छाँगा निजी कम्पनीलाई ठेक्कामा दिन लागिएको भन्दै विद्यालय र विद्यार्थीले प्रदर्शन गरेका थिए । महानगरपालिकाले बिदाको दिन पारेर सिलबन्दी गर्यो । त्यसपछि छाँगोको सञ्चालन र व्यवस्थापन गर्दै आएको छोरेपाटन माध्यमिक विद्यालयले पनि मंगलबार साँझ गेटमा ताला लगाएको छ ।
महालेखापरीक्षकको कार्यालयले राजस्व संकलनसम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि छाँगो महानगरले सञ्चालन गर्न लागेको राजस्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलले बताए ।
छाँगो २०३४ सालदेखि त्यहीँको छोरेपाटन माविले व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको छ । महानरपालिकाले विभिन्न संरचना निर्माणसमेत गर्ने गरी निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेको हुँदा विद्यालय सञ्चालनको आम्दानी टुट्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।
महानगरपालिकाले पातले छाँगोको सञ्चालन र व्यवस्थापनमा कुनै अवरोध नगर्न सबैलाई अनुरोध गर्दै राजस्व संकलन र संरचनागत व्यवस्थापनमा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।