पोखरा । स्याङ्जामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार करिब ११ बजे आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा शारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका-२ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका-६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएको स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।