barahi

पोखरा महानगरमा लफडा : एमालेले गर्‍यो नगरसभा बहिष्कार, कांग्रेसले लगायो ताला

बहिष्कारपछि माघ १० गते दिउँसो २ बजेसम्मका लागि हिउँदे अधिवेशन स्थगित

पोखरा । पोखरा महानगरपालिकामा करारका कर्मचारीको विषयले विवाद बढेको छ । यसैसँग सम्बन्धित रहेर नेकपा एमालेले नगर सभा बहिष्कार गरेको छ भने नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

सोमबार बोलाइएको १६औँ नगरसभाको बैठक विवादकै कारण स्थगित भएको छ । एमालेका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेपछि मेयर आचार्यले माघ १० गते दिउँसो २ बजेसम्मका लागि महानगरको हिउँदे अधिवेशन स्थगित भएको छ।

एमालेबाट निर्वाचित नगरसभा सदस्य विनोदबाबु भण्डारीले पोखरा महानगरपालिकाको १५ औँ विशेष नगरसभाले गरेका निर्णय हुबहु क्रमागत रूपमा लागु नभएको बताए । त्यो निर्णयका केही बुँदामा टेकेर मनोमानी रूपमा कोही कर्मचारीलाई काखी च्याप्ने र कसैलाई हटाउने गरेका कारण बहिष्कार गरिएको उनले फेसबुकमा लेखेका छन् ।

Sadak 1

मेयरले नगर सभा स्थगित गरेपछि कांग्रेस जनप्रतिनिधि आक्रोशित बने । बिनाकारण नगरसभा स्थगित गरेका कारण तालाबन्दी गरिएको पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

मंसिर २८ मा राखिएको १५औँ विशेष नगरसभाले पुस मसान्तपछि करारका कर्मचारीलाई हाजिरी नगराउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार महानगरपालिकाले माघ १ गतेदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरूको १ माघदेखि नै करार सेवा नियुक्ति नवीकरण रद्द गरिएको हो । करारका कर्मचारी हटाएर स्वास्थ्य संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको, करारको सट्टा अन्य व्यवस्था नगरी करार कर्मचारी नै भर्ना गर्ने मनाशय देखिएको भन्दै एमालेका जनप्रतिनिधि आन्दोलित छन् ।

नगरसभामा एमालेबाट ८६ जना जनप्रतिनिधि छन् भने नेपाली कांग्रेसका ८१ जना जनप्रतिनिधि छन् । मेयर आचार्य एक जना मात्र नेकपा एकीकृत समाजवादीका छन्। नगरसभामा बहुमत सदस्यले हस्ताक्षर गरेकाले पुन: सञ्चालन गर्न कांग्रेसका जनप्रतिनिधिले माग राखेका थिए।

उनीहरूले १५१ जना जनप्रतिनिधिले हस्ताक्षर गरेकाले नगर सभाको एजेण्डा पेस गर्न मेयर आचार्यलाई आग्रह गरेका थिए। आफूहरूको आग्रह विपरीत मेयरले नगरसभा स्थगित गरेकाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको नेपाली कांग्रेसका नगरसभा सदस्य प्रकाश कोइरालाले बताए।

Leave A Reply

Your email address will not be published.