पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ आयोजक र सशस्त्र प्रहरी बल एपीएफले पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई सोझो सेट ३–० मा हराउँदै आयोजक टोलीले पहिलो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको हो । सोमबार न्यू डायमण्डलाई हराएर एपिएफले पहिलो क्वालिफायर स्थान पक्का बनाएको थियो ।
उक्त समूहबाट दुवै खेलमा पराजित न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।
महिलातर्फ मंगलबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सोझो सेटमा हराउँदै नेपाल पुलिस एलिमिनेटर राउण्ड प्रवेश गरेको छ । आर्मीलाई २५–१८, २५–२१ र २५–१९ सेटमा पराजित गर्दै पुलिस पराजित टिमबाट कुल ६ अंक जोड्दै शीर्ष स्थानका साथ एलिमिनेटरमा स्थान बनाएको हो । आर्मी र ट्राभल इन्क्वायरी एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।
यस्तै आजै भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ३–१ सेट पराजित गरेको छ । ‘जित्ने समूह’ अब आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष २ रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।
पुरुषतर्फ गण्डकी प्रदेशले एपिएफलाई ३–१ सेटमै पराजित गरेको छ । गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग खेल्नेछन् । त्यसपछि शीर्षस्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।