पोखरा । विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ । पत्रकार कृष्णमणि बरालले २० वर्षभन्दा पहिलेदेखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुन लागेको हो ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा हुने फोटो प्रदर्शनीमा फेवाताल कसरी मुहानबाट पुरिँदै छ भन्ने देखिने २० वर्षअघि र अहिलेको तस्बिर पनि समावेश हुनेछ ।
ताल कसरी पुरिँदै छ र कसरी प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने जानकारी गराउदै संरक्षणमा लाग्न सचेत गराउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको आयोजक राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बताए ।
पत्रकार कृष्णमणि बरालले विगत १६ वर्षदेखि गिद्ध र सिमसार संरक्षणका लागि फोटो प्रदर्शनी गर्दे आएका छन् । यही निरन्तरताको क्रममा विश्व सिमसार दिवसको अवसरमा मानवीय व्यवहारका कारण पोखराका तालहरु कसरी प्रदूषणको चपेटामा परेका छन् भन्ने सचेत गराउन फोटो प्रदर्शनीको आयोजना गरिएको पत्रकार बरालले बताए । यस वर्षको नारा ‘हाम्रो साझा भविश्वका लागि सिमसार संरक्षण’ रहेको छ ।
सबै सजिव प्राणीका लागि नभई नहुने पानीका स्रोतहरु सुक्दै र प्रदूषणको चपेटामा पर्दै गएका छन् । भोलि पानीको अभावमा काकाकुल हुने अवस्था आउन नदिन अहिले देखि पानीका स्रोतहरु, खोला, नदी, ताल, तलैया सुक्न र प्रदूषणको चपेटामा पर्न नदिन संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन फोटो प्रदर्शनीको आयोजना गरिएको पनि उनले बताए ।
पोखराका ९ तालहरु २०७२ माघ २० गते अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएका छन् । पोखराका तालहरु अन्तर्राष्ट्रिय करण गरिएपनि संरक्षणमा नागरिक र तीन तहकै सरकारले चासो नदिदा प्रदूषणको चपेटामा परेका छन् । देशकै दोस्रो ठूलो ताल फेवा प्रत्येक वर्ष साँगुरिदै पनि गएको छ ।