पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेटमा धकेलिएको थियो । पाँचौं सेटमा आयोजक टोलीले १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो ।
पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलोपटकमै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको एपीएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।