पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो ।
पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो । चौंथो सेट २५–२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो ।
उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले जितेको छ ।